जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

Share:

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको संख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय सङ्क्रामक रोग संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यही माघ १५ गतेसम्म राष्ट्रव्यापी प्रति चिकित्सा संस्थामा बिरामीको औसत संख्या दश दशमलव ३६ पुगेको छ । हरेक स्वास्थ्य संस्थामा १० जना बिरामी आउने अनुमान गरिएकामा तिनमा बिरामी चाप बढेको पाइयो ।  बढ्दो बिरामीको संख्याले आगामी चार सातासम्म महामारीको चेतावनीलाई इङ्गित गरेको छ ।

देशका ४७ प्रिफेक्चरमा नियमितरूपमा गरिएका करिब पाँच सय चिकित्सा संस्थाको अनुगमनमा ५१ हजारभन्दा बढी श्वासप्रश्वासका बिरामी फेलापरेका छन् ।  ओकिनावा प्रिफेक्चरमा सबैभन्दा बढी ४२ दशमलव २३, फुकुईमा पच्चीस दशमलव ३८, ओसाका २४ दशमलव ३४ र फुकुओका २१ दशमलव ७० प्रतिशतले बिरामी बढेका छन् । विगतको भन्दा बेग्लै प्रकृतिका बिरामी बढेका भन्दै स्वास्थ्य विज्ञहरूले रोग अझ फैलनसक्ने चेतावनी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: