
कास्की : गण्डकी प्रदेशका सर्जक तथा कलाकर्मीको सम्मानमा पब्लिक फोरके टेलिभिजनले ‘सम्मान र सम्झनामा स्रष्टाहरू’ कार्यक्रम गर्ने भएको छ ।
पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सुगम संगीतका चर्चित गायक राज सिग्देल, विनोद बानियाँ, अजुदा थापा, सन्तोष बस्याल लगायत कलाकारको प्रस्तुति रहने उक्त टेलिभिजनका प्रबन्धक निर्देशक मन क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले टिभीको औपचारिक सुरुआत हुने दिन फागुन ७ गते उक्त कार्यक्रम गर्न लागेको बताए ।
क्षेत्रीका अनुसार गण्डकी प्रदेशका दिवंगत स्रष्टाहरूको सम्झना तथा सम्मानमा गर्न लागिएको कार्यक्रममा झलकमान गन्धर्व, धर्मराज थापा, अलि मियाँ, सरोजगोपाल बज्राचार्य, भूपि शेरचन, माधवप्रसाद घिमिरे, कल्याण शेरचन, धनबहादुर गायक, प्रविण गुरूङ, सुन्दर थापालगायत सर्जकका कालजयी गीत प्रस्तुत हुनेछन्।
कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनसहित यसैका आधिकारिक युट्युब र फेसबुक पेजमार्फत पनि हुने क्षेत्रीले बताए।
प्रदेशकै पहिलो फोरके प्रविधिमा सञ्चालनमा आउन लागेको टिभीको औपचारिक उद्घाटन समारोहमा गण्डकी प्रदेशका राजनीति, कला, साहित्य, संगीत, पर्यटन, पत्रकारिता, उद्योग, खेल क्षेत्रका व्यक्ति व्यक्तित्व उपस्थित हुने उनले जानकारी दिए । कार्यक्रम होटल पोखरा ग्रान्डमा हुनेछ ।
