पशुपतिनाथमा आद्य शंकराचार्य मन्दिर उद्घाटन

142
0
Share:

काठमाडौं :  जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गरेका छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताए ।

 शंकराचार्य मठका पीठाधीश डा रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहनुभएका सन्त डा केशवानन्द गिरीलगायतले आद्य शंकराचार्य आएर बसेकैले यो मठलाई शंकराचार्य मठ नामकरण गरिएको  र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताए ।

 वैदिक सनातनी परम्परामा आद्य शंकराचार्यलाई भगवान् शिवको अवतारका रुपमा लिइन्छ । आद्य शंकराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गरेका  थिए । ती मठ अहिले पनि आद्य उनले नै  बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ ।

 आद्य शंकराचार्य २८–३० वर्षको उमेरमा नेपाल आउनुभएको थियो । इसापूर्व ४७८ उहाँ नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ । शंकराचार्य नेपाल आएको समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन  गर्न मानिसको ठूलो भीड लागेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: