एउटै कोठामा दुई शिक्षिकाले पढाउँछन् दुई फरक कक्षा

161
0
Share:

गुल्मी : जिल्लाको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन्। 

रेसुंगा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाइरहेका छन्।

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थी यसरी एउटै कोठमामा पढिरहेका छन्। एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ । 

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गरेकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गरिन्। ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौँ’, उनले भनिन्, ‘विद्यार्थीलाई असहज भएको छ। एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ।’

सिकाउन आफूहरूलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताइन्। आफूहरूले पढाउँदा दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उनको भनाइ छ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताए। नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उनी बताउँछन्। ५० लाख रुपैयाँ लागतमा भवन बनाइँदैछ।  

कमेन्ट गर्नुहोस्
Share: