कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घरभाडाका उजुरी

Share:

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी  घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ।    

छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको संख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको कामपा उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

उनका अनुसार ‘कोठा खाली गरिदिनुपर्‍यो’ भन्दै आउने उजुरी बढी छ। यसरी आउने उजुरीमा व्यक्तिगत प्रयोजनका लागि भाडामा दिएका र संस्थागतरूपमा नै भाडामा दिएका दुवै किसिमका उजुरी उति नै छन्। पछिल्लो समय सहकारी सञ्चालकहरूले कार्यालय नै बन्द गरी घरभेटीसँग सम्पर्कविहीन भएका उजुरी पनि बढिरहेको छ। 

भाडामा बस्ने सम्पर्कमा नआउने अधिकरूपमा यस्ता किसिमका उजुरी पर्ने गरेका छन् । संस्थागत होस् या व्यक्तिगत दुवै किसिमले भाडामा लगाउनेहरूले लिखित सम्झौता नगर्ने हुँदा यस्ता किसिमको समस्या बढी आउने गरेको कामपाको ठहर छ । यस किसिमको समस्या समाधानका लागि कामपाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ।

त्यसका लागि यसअघि भाडामा लगाउँदै आएकाहरूले पनि लिखितरूपमा पुनः सम्झौता गरी वडा कार्यालयमा दिनुपर्ने छ र नयाँले पनि गर्नुपर्ने छ। कामपाले अत्यधिकरूपमा बहालसम्बन्धी उजुरी बढेको र कर असुल गर्नसमेत समस्या भएको भन्दै गत फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेको छ। निर्देशिकाअनुसार अबै घरधनीले घरभाडामा दिँदा अनिवार्यरूपमा सम्झौता गरी वडा कार्यालयमा लिखितरूपमा जानकारी दिनुपर्ने छ।  

सम्झौता गरेको पत्र वडा कार्यालयमा दिनका लागि कामपाले निर्देशिका जारीसँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: