चलचित्रको सफलतामा सशक्त गीत–संगीत

Share:

काठमाडौं :  नेपाली चलचित्र सफल हुनुको एउटा महत्वपूर्ण कारण गीतसंगीत मानिन्छ । दर्शकलाई हलसम्म ल्याउन गीतसंगीतले प्रचारप्रसारको भूमिका निर्वाह गर्ने गरेको छ । पछिल्लो समय ‘भिडियो शेयरिङ साइट’ टिकटकमा समेत गीत–संगीत लोकप्रिय हुने गरेको छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायत चलचित्रमा गीतसंगीत झैँ कथावस्तुले चर्चा पाउन सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीतसंगीतमा उलेख्य लगानी भएको पाइँदैन ।

 भिडियोमा बढी लगानी गर्दा गीतसंगीतको स्तरमा कमी आएको संगीतकार अर्जुन पोखरेल स्वीकार्छन् । “चलचित्रमा हुने गीतसंगीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । एकलरूपमा गीतिसङ्ग्रहमा आउनेमा भने त्यो लागु हुँदैन”, उनले भने । स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतसंगीत नै भएको पोखरेलको भनाइ छ ।

चलचित्र निर्माणमा लागत बढेकै कारण दृश्यमा खर्च कम भइरहेको नृत्य निर्देशक रामजी लामिछानेले बताए । “काममा बजेटले असर गर्छ । हामीले स्वतन्त्र रूपमा खर्च गर्दा त्यसबाट निर्मातालाई पुग्ने फाइदा पनि विचार गर्नुपर्छ”, उनले भने, “केही निर्माता गीतलाई भिडियोमा कुनै कमी नहोस् भन्ने हुनुहुन्छ भने केही ठीकठाक गरौँ भन्ने पनि हुनुहुन्छ । उहाँहरूकै इच्छाअनुसार हामी काम गरिरहेका हुन्छौँ ।”

संगीतकार शम्भुजित बाँस्कोटा गीतसंगीतमा गरिएको लगानीले निर्माण पक्षलाई फाइदा पुग्ने बताउँछन्। “पहिला चाडपर्वलाई लक्षित गर्दै गीत तयार गर्नाका साथै सोही सन्दर्भसमेत पर्दामा राखिन्थ्यो । त्यसैले चाडपर्वमा नयाँको तुलनामा पुराना गीत नै लोकप्रिय छन्”, उनले भने । प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ सफल चलचित्रका रूपमा प्रर्दशन भइरहेको छ । यसको गीतसंगीतसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनिरहेको छ ।

घरेलु बजारसँगै विदेशमा समेत राम्रो व्यापार गरिरहेको चलचित्रको सफलतामा गीतसंगीतको भूमिका बिर्सन नसकिने निर्माता निर्मल शर्माले बताए । “हामी प्रति दर्शकको विश्वास छ । साथै गीतसंगीतले समेत सामाजिक सञ्जालमार्फत प्रचारमा सघाएको छ”, उनले भने ।

कमेन्ट गर्नुहोस्
Share: