
झापा : कोशी प्रदेशमा पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको पाइएको छ । झापाको बिर्तामोडमा आयोजित ‘नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम’मा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजनाका कोशी प्रदेश संयोजक सञ्जीव लामा घिसिङले प्रदेशको पोषणको तथ्याङ्क प्रस्तुत गर्दै पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका पुड्कोपन रहेको जानकारी दिए ।
त्यस्तै १३ प्रतिशत बालबालिकामा कम तौलको समस्या र चार प्रतिशत ख्याउटेपनबाट ग्रसित भएको उनले बताए । ‘नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण धेरै छ’, उनले भने, ‘जसका कारण बालबालिकाको चौतर्फी विकास हुनसकेको छैन ।’ उनले नेपालमा २५ प्रतिशत पुड्कोपन, आठ प्रतिशत ख्याउटेपन र १९ प्रतिशत बालबालिका कम तौलका रहेको बताए ।
बालबालिका धेरै कुपोषित भएको र यसलाई निराकरण गर्न पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए । कृषि, पशुपक्षी, शिक्षा, खानेपानी, महिला तथा बालबालिकासँग सम्बन्धित क्रियाकलापसँगसँगै पोषणको एकीकृत कार्यक्रम कार्यान्वयन गर्ने उद्देश्यका साथ योजना आएको बताउँदै उनले यस कार्यक्रमले बालबालिकासँगै किशोरी तथा महिलाको पोषणको अवस्थामा समेत सुधार ल्याउने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँले पोषणको कुरा सामान्य लागे पनि महत्वपूर्ण विषय रहेको बताइन् । ‘कुपोषित बालबालिकाकाको समुचित शारीरिक तथा मानसिक विकास हुन सक्दैन’, उनले भनिन्, ‘राम्रो समाज निर्माणका लागि राम्रो जनशक्ति आवश्यक हुन्छ, बच्चालाई आमाको गर्भमा हुँदादेखि नै कुपोषित हुनबाट बचाउनु पर्छ ।’
