
कास्की : हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ ।
एजुकेट नेपाल नामक संस्थाले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर यही जेठ २६ गते शुक्रबार सभागृहमा साँझ ६:३० बजेबाट परोपकारी सांगीतिक साँझ हुने भएको हो।
हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का १७ स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्न लागेको एजुकेट नेपाल प्रोजेक्टका सदस्य सोभित ठकुरीले बताए।
कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ, सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको प्रस्तुति रहने आयोजक संस्थाका सोभित ठकुरीले जानकारी गराए । उनका अनुसार कार्यक्रममा प्रवेशका लागि २५०, ५०० र १००० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जसमा विद्यार्थीका लागि २५०, कर्मचारी टिकट ५००, र व्यापारीक व्याक्ति र संघ संस्था टिकट भनेर १००० रुपैयाँ राखिएको ठकुरीलाई बिगखबरलाई बताए ।
प्रेरणा, हौसला र सहयोग भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको र कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ठकुरीले जानकारी दिए ।
शैक्षिक सामाग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा उक्त सामाग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य रहेको उनले बताए।
पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल प्राजेक्टमा किरण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान लामिछाने, राजु दास लगायत २४ जना युवाहरु भोलियन्टर रुपमा काम गर्दै आएका छन् ।
संस्थाले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत लामो समय देखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ । यस्तै केही समय अगाडि पुर्वी रूकुमका १५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो ।
शुक्रबार हुने सांगीतिक कार्यक्रम मार्फत उठेको आर्थिक सहयोगबाट शैक्षिक सामाग्री लिएर टोली आउँदो असारको अन्तिममा हुम्ला प्रस्थान ठकुरीको भनाइ छ ।
