ग्रीसमा आप्रवासी चढेको डुङ्गा डुब्दा हराएका सयौं बेपत्ताको खोजी जारी

Share:

दक्षिणी ग्रीसमा भएको समुद्री विपत्तिमा बाँच्न सफल भएकाहरूको खोजी कार्य जारी रहेकै बेला उद्धारकर्मीहरूले मृत आप्रवासीको शव ‘रेफ्रिजेरेटेड ट्रक’मा स्थानान्तरण गरेका छन् । सयौं मानिस अझै हराइरहेको आशंका गरिएको छ ।
लिबियाबाट इटाली जान चाहने आप्रवासीलाई लिएर जाँदै गरेको एउटा माछा मार्ने डुङ्गा एक दिनअघि ग्रीसको तटीय क्षेत्रमा गहिरो पानीमा डुबेपछि कम्तीमा ७८ जनाको शव फेला परेको थियो ।

उद्धारकर्ताहरूले इजिप्ट, सिरियाली, पाकिस्तानी, अफगान र प्यालेस्टाइनी सहित १०४ जना यात्रुलाई बचाएका थिए, जसमा अधिकांश पुरुष र आठ जना नाबालिकहरू पनि थिए । यदि यसको पुष्टि भयो भने यो त्रासदी मध्य भूमध्यसागरमा अहिलेसम्मकै सबैभन्दा खराब घटना हुनेछ ।

“बाँचेकाहरू निकै कठिन अवस्थामा छन् । अहिले उनीहरू स्तब्ध छन्,” संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीको प्रतिनिधिमण्डलकी प्रमुख इरास्मिया रौमानाले दक्षिणी बन्दरगाह कलामाटाको भण्डारण ह्याङ्गरमा उद्धार गरिएका आप्रवासीलाई भेटेपछि भने , “उनीहरू आफ्नो परिवारसँग सम्पर्क गर्न चाहन्छन्, उनीहरूले आफुलाई ठीक छ भनेर बताउन चाहन्छन्, र हराएका आफन्तहरूको बारेमा सोधिरहेका छन् । धेरैका साथीभाइ र नातेदारहरू वेपत्ता छन् ।”
ग्रीसले तीन दिनको शोकको घोषणा गरेको छ र राजनीतिज्ञहरूले जुन २५ मा हुने आम चुनावको लागि प्रचार अभियान स्थगित गरेका छन् ।
सर्वोच्च अदालतका एक अभियोजकले मृत्युको परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: