
काठमाडौं : एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ ।
नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्ययनअनुसार विश्वको सरदर तापमानमा भएको बढोत्तरीका कारण पछिल्ला वर्षमा हिमनदी, हिउँ र हिउँ जमेको स्थानमा अभूतपूर्व परिवर्तन आएको देखिएको छ ।
तीन हजार पाँच सय किलोमिटर लामो हिन्दकुश हिमालय शृङ्खलामा नेपालसहित अफगानिस्तान, बङ्गालादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तान गरी आठ मुलुक पर्दछन् । हिमनदीको क्षयीकरणको दर हिमालय क्षेत्रका विभिन्न भू-भागमा फरक–फरक रहने अध्ययनको प्रक्षेपण गरेको छ । यो शताब्दीको अन्त्यसम्ममा तीन डिग्री सेन्टिग्रेडले पृथ्वीको तापक्रम बढ्दा हिमालय क्षेत्रले ७५ प्रतिशत हिउँ गुमाउने र पृथ्वीको तापमान चार डिग्रीले बढ्दा यो ८० प्रतिशत पुग्ने आँकलन गरिएको छ ।
इसिमोडले सार्वजनिक गरेको ‘हिन्दकुश हिमालय क्षेत्रको पानी, हिउँ, समाज र पारिस्थिकीय प्रणाली’ शीर्षकको अध्ययन प्रतिवेदनमा उच्च भूभागमा पानी जमेको क्षेत्र, पानी, जैविक विविधता, समाजको अन्तरसम्बन्ध र यसको प्रभावबारे समीक्षा गरिएको छ ।
अध्ययनले पृथ्वीको तापमानमा भएको वृद्धिका कारण सन् २००० को दशकको तुलनामा सन् २०११ देखि २०२० सम्मको दशकमा हिमनदीहरूको क्षयीकरणको दर ६५ प्रतिशतले बढिरहेको देखाएको छ । हिउँ पग्लने प्रक्रियाका कारण यो शताब्दीको मध्यसम्म यो क्षेत्रमा पानीको मात्रा र प्रवाह अत्यधिक हुने र त्यसपछि क्रमशः अभाव हुँदै जाने आकलन अध्ययनमा छ ।
अध्ययनका प्रमुख लेखक तथा इसिमोडका वातावरण वैज्ञानिक फिलिपस वेस्टरले भनेका छन्, “पछिल्लो सयवर्ष अवधिमा हामी हिमनदी गुमाउँदै छौँ ।” हिउँ र बरफ पग्लिँदा यस क्षेत्रमा बसोबास गर्ने दुई अर्ब मानिसको जीवनयापन र विभिन्न प्रजाति लोप हुने खतरा रहेको अनुमान गरिएको छ ।
उच्चतम उत्सर्जनको अवस्थामा ७४ प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको अमुदर्या नदी, ४० प्रतिशत पानीका लागि हिम नदीमा निर्भर रहेको इन्दुज नदी तथा ७७ प्रतिशत पानीका लागि हिमनदीमा निर्भर रहेको हेलमन्ड नदीमा पानीको प्रवाह नाटकीय हिसाबले घट्ने अध्ययनको आँकलन छ ।
हिन्दकुश हिमालय क्षेत्रबाट बग्ने १२ प्रमुख नदीका लागि हिमालय क्षेत्रको हिउँ र बरफ महत्वपूर्ण स्रोत रहँदै आएको छ । यी नदीले यस क्षेत्रका पहाडी भूभागमा बस्ने रु २४ करोड जनसंख्यालाई स्वच्छ पानी तथा अन्य पारिस्थिकीय सेवा दिँदै आएका छन् भने तल्लो तटका एक अर्ब ६५ करोड मानिस यही स्वच्छ पानीमा आधारित छन् ।
उच्चतम भू-भागमा हिउँ जमेको जमिन घट्दै जाँदा यसले धेरै पहिरो जाने र उच्चतम भूभागमा निर्माण भएका भौतिक संरचना संकटमा पर्ने, हिमतालमा विस्फोटको खतरा बढ्ने तथा विपद्का कारण ठूलो जनसंख्या विस्थापित हुनेसमेत देखिएको छ । “भविष्यमा हुने हानि तथा नोक्सानीलाई सम्बोधन गर्न र समुदायको अनुकूलन क्षमता बढाउन तत्काल अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय सहकार्य आवश्यक छ”, अध्ययनले भनेको छ ।
इसिमोडकी उपमहानिर्देशक इजाबेला कोजिएलले भने, “हिन्दकुश र हिमालय क्षेत्रका हिमनदी पृथ्वीको प्रणालीको अभिन्न अङ्ग हुन् । यसलाई गुमाउँदा हुने नोक्सानीलाई हिसाब गरी साध्य छैन । विश्वले यो संकटलाई रोक्न आवश्यक छ । तत्काल यो संकट न्यून गर्ने प्रयासका साथै अनुकूलन कोषको आवश्यकता, पारिस्थिकीय प्रणाली, पुनःस्थापना तथा हानिनोक्सानीका लागि थप वित्तीय परिचालन आवश्यक देखिएको छ ।”
