
तनहुँ : जिल्लाका स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट, नीति तथा कार्यक्रमको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधानका कारण जिल्लाका चार नगरपालिका र छ गाउँपालिका अन्तिम तयारीमा छन् ।
जिल्लाको देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने केही स्थानीय तह सुझाव संकलननमा व्यस्त छन् । अधिकांश स्थानीय तहले भने इमेलमार्फत नै सुझाव माग गरेका थिए ।
शुक्लागण्डकी नगरपालिकाले बजेट, नीति तथा कार्यक्रमलाई जनमैत्री बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव संकलनन गरेको छ । नगरप्रमुख कृष्णराज पण्डितले बजेट, नीति तथा कार्यक्रममा नगरवासीको अपनत्व वृद्धि गराउन सबै पक्षबाट सुझाव लिइएको बताए । प्राप्त सुझावलाई समेटेर आगामी आवको बजेट, नीति तथा कार्यक्रम निर्माण गर्ने पण्डितले उल्लेख गरे ।
उनले भने, “स्थानीय सरकार जनताको नजिकको सरकार हो, स्थानीय सरकारमा नगरवासीले आफ्नो अपनत्व खोज्नु स्वाभाविक हो, हामी त्यसमा सचेत छौँ, नगरवासीको रचनात्मक सुझावलाई समेट्छौँ ।”
नगरपालिकाले नगर सल्लाहकार, राजनीतिक दल, बौद्धिक व्यक्तित्व, नागरिक समाज, नागरिक सरोकार मञ्च, उद्योग वाणिज्य संघ, लियो, जेसिज, युवा क्लब, टोल विकास संस्था, मजदुर, निर्माण व्यवसायी, सहकारी, बैंक तथा वित्तीय संस्था, महिला, आदिवासी जनजाति, ज्येष्ठ नागरिक, दलित, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, कृषक लगायतसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव संकलनन गरेको छ ।
जिल्लाको पुरानो नगरपालिका व्यास नगरपालिका बजेटको अन्तिम तयारीमा छ । असार १० गते नीति, कार्यक्रम र बजेट एकैसाथ प्रस्तुत गर्ने नगरपालिकाको तयारी छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले भूगोल र जनसंख्यालाई आधार मानी सामाजिक आधारभूत आवश्यकता पूर्ति गर्ने गरी योजना बनाइने बताए । उहाँका अनुसार वडाबाट आएका योजना छनोटमा सडक, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, वन तथा वातावरण, आर्थिक, संस्थागत सुधार लगायतका योजना प्राथमिकतामा परेका छन् ।
यस पटक व्यास नगरपालिकाको बजेटको आकार अंक गणितीय हिसाबमा अघिल्लो वर्षको तुलनामा सानो हुने न्यौपानेले बताए । उहाँका अनुसार संघीय एवं प्रदेश सरकारले दिँदै आएको ससर्त, समानीकरण, समपूरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेटको आकार सानो बनाउन लागिएको हो ।
आव २०८०÷८१ को बजेट तथा कार्यक्रमका लागि नगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाको तर्जुमा गरेर विषयगत समितिमार्फत छलफल गरी नगरसभामा पेस गर्ने तयारी गरेको छ । न्यौपानेले भने, “संघ र प्रदेश सरकारले दिँदै आएको अनुदानमा धेरै कटौती भएको छ, त्यसको प्रत्यक्ष असर व्यास नगरपालिकामा पनि पर्नेछ ।” उनका अनुसार यस पटकको कार्यक्रम तर्जुमा गर्दा चालू खर्चमा कटौती गरी धेरैभन्दा धेरै बजेट पूँजीगत खर्चमा विनियोजन गर्ने तयारी छ ।
बजेट निर्माणका लागि नगरपालिकाले १४ वटै वडामा बजेटको मापदण्ड निर्माण गरी पठाएको थियो । अघिल्लो वर्ष हरेक वडालाई रु एक करोड २५ लाख बजेट तोकिएकामा यस पटक भने रु एक करोडको बजेटमात्र मापदण्ड तय गरिएको छ । वडामा चालू खर्च करिब २० प्रतिशत र पूँजीगत खर्च ८० प्रतिशत हुने गरी मापदण्ड बनाइएको छ । त्यसले गर्दा जनताले प्रत्यक्ष नगरपालिकाको बजेट तथा कार्यक्रमको महसुस गर्ने दाबी गरिएको छ ।
नगरपालिकाले अघिल्लो आवमा रु २२ करोड ६० लाख राजस्व संकलनन गरेको थियो भने यस चालू वर्षमा करिब रु १७ करोड राजस्व संकलनन गरेको छ । नगरपालिकाले आव २०७९÷८० का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पास गरेको थियो ।
देवघाट गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ भने असार १० गते बजेट प्रस्तुत गर्नेछ । गाउँपालिकाले पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।
गाउँपालिकाले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने सङ्कल्पअनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । दिगो विकासको राष्ट्रिय लक्ष्यहरूको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माणसहित स्थानीय स्रोतको पहिचान र परिचालन गरिने थापाले बताए ।
सो गाउँपालिकालाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने, भूमिहीन अव्यवस्थित बसोबासीको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनाबद्ध सहरीकरण तथा बस्ती विकासलाई प्राथमिकतामा राखेको अध्यक्ष थापाले जानकारी दिए ।
गाउँपालिकाको चालू आवमा पूर्वाधारतर्फ हालसम्म ६४ किलोमिटर सडक स्तरोन्नति, ११ किलोमिटर नयाँ ट्र्याक निर्माण भएको तथा सबै वडामा सडकको पहुँच पुगेको अध्यक्ष थापाले जानकारी दिए । साथै प्रदेश सरकारबाट पाँच किलोमिटर सडक कालोपत्र भएको छ ।
गाउँपालिका र सहरी पूर्वाधारबाट गरी तीन सय १० मिटर बाटो ढलान, तीनवटा कल्भर्ट तथा एक हजार तीन सय ५० मिटर पक्की नाला निर्माण भएका छन् । गाउँपालिकामा एक सय २३ आयोजना उपभोक्ता समितिबाट र आठवटा ठेक्काबाट गरी जम्मा एक सय ३१ आयोजना सम्पन्न भएका छन् । स्वास्थ्यतर्फ निःशुल्क आँखा शिविरबाट ६३ र परिवार नियोजन कार्यक्रमबाट तीन सय चार जनाले सेवा पाएका छन् ।
भानु नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाले पनि बजेटको अन्तिम तयारी गरेका छन् ।
