
ताप्लेजुङ : जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक संघसंस्थाका प्रतिनिधिको टोली शनिवार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सन सहितका संरचना निर्माणबारे चासो राख्यो ।
‘पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो,’ अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भने, ‘ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।’
वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष थापाको भनाइ छ । असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै २ गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ तर १ हप्ता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन ।
विगत ३ दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य संघ सहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ । मेची राजमार्गमा हेवाखोलाको वारिपारि २ तर्फ रहेका सवारीसाधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् । तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले आजबाट भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् ।
राष्ट्रिय युवासंघ पाँचथर सहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो तर छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य १ हप्ता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् ।
बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकोमा ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष थापाले गुनासो पोखे ।
डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य संघसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ तर चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारी लगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् ।
पानीको सतह घटेको ३ दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिवार ८ वटा ह्युमपाइप ल्याइएको छ । डाइभर्सन निर्माणस्थलसम्म सडक विस्तार भएको छ । प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् ।
यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ । सडक डिभिजन कार्यालय इलामका इन्जिनीयर विपिन ढुंगानाका अनुसार बेलीब्रिज निर्माण कार्य शुरूआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ तर सो कार्य अहिलेकै गतिमा अघि बढे १ महिनामा पनि सम्पन्न हुन कठिन छ । बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ ।
