
काठमाडौँ- घोराही सिमेन्ट आईपीओ निष्कासन प्रकरण तीन संस्था छानबिनमा तानिएका छन्। यो प्रकरणमा एनआईसी एसिया बैंक, घोराहीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छानबिनमा तानिएका हुन्। धितोपत्र बोर्डले यी तीन संस्थामाथि छानबिन गर्ने निर्णय गरेको हो।
आस्वा सदस्यको रुपमा रहेको एनआईसी एसिया बैंकले आवेदकको खातामा आवेदन गरिएको रकमभन्दा न्यून रकम हुँदाहुँदै पनि स्वीकृत गरेको थियो। यसले आशंका पैदा गरेको भन्दै बोर्डले छानबिन गर्ने उल्लेख गरेको हो।
‘आस्वा सदश्य एनआईसी एसिया बैंक लिमिटेडले आवेदन खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्वन्धमा थप छानबिन गरी आवश्यक कारवाही अगाडि बढाउने’, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा रहेका हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड मागभन्दा बढीका लागि आवेदन परे पनि समयवधि थप गर्न सूचना प्रकाशित गरेकाले छानबिनमा तानिएका हुन्।
‘निस्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिद लागि आवेदन परेको आवस्थामा समेत समयवधिमा थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन गर्ने’ बोर्डको भनाइ छ।
