
चीनले युरोपेली संघका विदेश मामिला र सुरक्षा नीतिका लागि उच्च प्रतिनिधि जोसेप बोरेलको चीन भ्रमण रद्द गरेको छ । चीन र इयूबीच व्यापार, मानव अधिकार र युक्रेन द्वन्द्वमा चलिरहेको असहमतिलाई लिएर बेइजिङले यो भ्रमण रद्द गरेको हो ।
चीनका लागि युरोपेली संघका राजदूत राजदूत जर्ज टोलेडोले जोसेप बोरेल चिनियाँ विदेशमन्त्री छिन गङ र अन्य अधिकारीसँग वार्ता गर्न भोलि असार २५ गते बेइजिङमा अवतरण गर्ने कार्यक्रम रहेकामा त्यो अब रद्द भएको बताएका छन् । चिनियाँ र युरोपेली कूटनीतिज्ञ व्यापार, मानवअधिकार र रुस–युक्रेन जारी द्वन्द्वमा चीनको अडानलगायत विषयमा छलफल गर्ने ‘एजेन्डा’ मा काम गरिरहेका थिए ।
चीनले बोरेलको भ्रमण रद्द गरेको युरोपेली संघले औपचारिकरूपमा जनाएको छ तर भ्रमण रद्द गर्नुको कारण भने खुलाइएको छैन । चिनियाँ पक्षले नै भ्रमण रद्द हुनुको कारणबारे जानकारी नदिएको जनाइएको छ । नयाँ मितिमा बोरेलको भ्रमण हुने अपेक्षा गरिएको संघका प्रवक्ता नबिला मस्रालीले बताएकी छन् ।
यसैबीच, चिनियाँ विदेशमन्त्रीका प्रवक्ता वाङ वेनबिनले पनि इयुसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताउँदै दुवै पक्षलाई सहज हुने मितिमा उच्च प्रतिनिधि बोरेललाई चीनमा स्वागत गरिने स्पष्ट गरेका छन् । इयूसँग विभिन्न क्षेत्रमा र सबै तहमा भ्रमण आदानप्रदान गर्न चीन इच्छुक रहेको बताउँदै उनले ब्रसेल्ससँग बेइजिङ सम्पर्कमा रहिरहने स्पष्ट गरे ।
