
विगत सात वर्षसम्म विश्वमा भोकमरी बढ्दै गएकोमा सन् २०२२ मा भोकमरी वृद्धिको अवस्था स्थिर तर महामारीअघिको स्तरभन्दा माथि रहेको संयुक्त राष्ट्रसंघीय निकायले बुधबार बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन, अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रतिवेदनमा सन् २०३० सम्ममा उन्मूलन हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।
गत वर्ष ६९ करोड १० लाखदेखि ७८ करोड ३० लाखको हाराहारीमा मानिस भोकमरीको सामना गरेका थिए अर्थात् औसतमा ७३ करोड ५० लाख मानिस भोकमरीको चपेटामा परेका प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१९ मा विश्व जनसंख्याको ७.९ प्रतिशत भोकमरीमा रहेकामा सन् २०२२ मा यो संख्या बढेर ९.२ प्रतिशत पुगेको छ ।
‘स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वल्र्ड’को प्रतिवेदनअनुसार सन् २०२१ देखि २०२२ को बीचमा खाद्य संकट करिब ३८ लाख मानिसको संख्यामा कमी आएकाले वार्षिक वृद्धि ‘रोकिएको’ हो ।
अफ्रिका, पश्चिम एसिया र क्यारेबियन क्षेत्रमा भोकमरी अझै बढ्दै गएकाले आत्मसन्तुष्टिको कुनै ठाउँ नभएको अधिकारीहरूले चेतावनी दिएका छन् ।
यो प्रतिवेदन ‘विश्व अझै पनि विश्वव्यापी महामारीबाट गुज्रिरहेको र अहिले युक्रेनमा युद्धको परिणामसँग जुधिरहेको अवस्थामा आएको हो । यसले खाद्य र ऊर्जा बजारलाई थप झकझकाएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१९ यता यी संकटले थप १२ करोड २० लाख मानिसलाई भोकमरीमा डुबाएको छ । “महामारीपछिको आर्थिक पुनः रुत्थानले स्थितिमा सुधार ल्याउन मद्दत गर्यो, तर युक्रेनको युद्धका कारण खाद्यान्न र ऊर्जाको मूल्यवृद्धिले सामान्य प्रगतिलाई कमजोर बनाएकोमा कुनै शंका छैन,” प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा भनिएको छ, “यो अनुमानले भोकमरी ‘अब विश्वव्यापी स्तरमा बढिरहेको छैन’ तर यो ‘कोभिड–१९ महामारीअघिको स्तरभन्दा निकै माथि छ र भोकमरीमुक्त विश्वको दिगो विकास लक्ष्य–२ हासिल गर्ने मार्गबाट निकै टाढा छ ।
संयुक्त राष्ट्रसंघका निकायहरूका अनुसार विश्वले आफ्नो प्रयासलाई दोब्बर बनाउन सकेन भने सन् २०३० सम्ममा भोकमरी, खाद्य असुरक्षा र कुपोषणजस्ता सबै प्रकारका खाल संकटलाई उन्मूलन गर्ने लक्ष्यको पहुँचबाहिर रहनेछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै सन् २०३० को पोषण लक्ष्य हासिल गर्ने दिशामा केही क्षेत्र अघि बढेको बताएका छन् ।
तर समग्रमा भन्नुपर्दा दिगो विकास लक्ष्यलाई उकास्न हामीलाई तीव्र र तत्काल विश्वव्यापी प्रयासको खाँचो छ ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१५ मा तयार पारेको दिगो विकास लक्ष्यमा भोकमरी र गरिबीको अन्त्यलगायत १७ वटा अन्तरसम्बन्धित उद्देश्य समावेश छन् । यदि प्रगतिको गति अघि बढ्न सकेन भने सन् २०३० सम्ममा पनि करिब ६० करोड मानिस भोकमरीको चपेटामा पर्न सक्छन् ।
खाद्य असुरक्षा र कुपोषणका प्रमुख कारकहरू द्वन्द्व, आर्थिक संकट, प्राकृतिक विपत्तिका साथै असमानता नवसामान्य बन्न पुगेको संयुक्त राष्ट्रसंघका निकायहरूले चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय कृषि विकास कोषका प्रमुख अल्भारो लारियोले भने, “हामीले जुन कुराको कमी महसुस गरिरहेका छौं, त्यो भनेको लगानी र राजनीतिक इच्छाशक्ति हो ।”
विश्व खाद्य कार्यक्रमले गत मे महिनामा सोमालिया, केन्या र इथियोपियाका दुई करोड ३० लाखभन्दा बढी मानिसलाई अनिकाल पर्ने चेतावनी दिएको थियो ।
सन् २०२२ मा विश्वका १० मध्ये तीन जना गरी करिब २ अर्ब ४० करोड मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षाबाट पीडित भएका थिए ।
महामारीले धेरै मानिसको आयमा असर पारेको र युक्रेन युद्धका कारण मूल्य वृद्धि भएको र अर्बौं मानिस किफायती स्वस्थ आहारको पहुँचबाट बञ्चित भएको संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार गत वर्ष तीन अर्ब १० करोडभन्दा बढी मानिससँग स्वस्थ र सन्तुलित आहारका लागि पर्याप्त पैसा थिएन ।
