
मकवानपुर : विपत्तिको कुरा सुन्नेबित्तिकै सरोजकुमार खनाल झस्याङ हुन्छन् । उनले बाढी पहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनुपर्ला भनेर कहिलै सोचेका थिएनन् । मकवानपुर जिल्लाको तत्कालीन पालुङ गाविस–९ फेदीगाँउमा बाढीपहिरोको परिवेशलाई सम्झँदा उनी भक्कानिन्छन् ।
फेदीगाँउमा एक सातासम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढी पहिरोले आँखै अगाडि गाउँ नै बगाएको देख्दा उनलाई असैह्य पीडा भएको थियो । बाढी पहिरो जाने कुनै सम्भावना नभएको उक्त ठाउँमा विनाशकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ उनलाई ।
कुरा विसं २०५० को हो । साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारीपट्टि रहेको तत्कालीन विकास घरमा बसेर काम गरिरहेका थिए । दिउँसो ४ बजेतिर यति ठूलो पानी पर्यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका थिएनन् । मुसलधारे वर्षाका कारण खनाल घर जानसक्ने अवस्थामा थिएनन् । उनी भन्छन्, ‘‘वर्षाले ठूलै विपत्री ल्याउनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो । रातभर पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटिरहेँ ।’’
चारैतिर मुसलधारे पानीको वेग भएपछि शारीरिक रुपमा र मानसिक रुपमा उनमा चिन्ता बढ्नु स्वाभाविक थियो । बिहान उज्यालो भएपछि उनी बाढीको प्रवाह नगरी आफ्नो घरतिर लागे । जब उनी घरमा पुगे, त्यहाँ न उनले न घर देखे न परिवार नै । उनको घर परिवारलाई रातको ठूलो वेगमा आएको बाढीसँगै बगाइसकेको थियो । बिहान घरमा पुग्दा परिवार पुरिएका थिए, गाई वस्तु केही पानीमा तैरिएको थिए भने धेरै पुरिएको अवस्थामा थिए । खाद्यान्न नगदसँगै खनालको आफ्नो शरीरमा भएको एकसरो कपडाबाहेक केही बाँकी रहेनन् । उनको होस हरायो, केहीबेर अचेत बने ।
जीवनमा यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका उनी केहीबेर त लडीबुडी गर्दै ररुनेकराउने गरे तर उनको त्यो चित्कार सुन्ने कोही थिएन । रातभर घरपरिवारमा केही नहोस् भनेर भगवानसँग गर्नुभएको प्राथनाको कुनै अर्थ रहेको थिएन । बाढीले उनको बाबु, आमा, श्रीमती, भाउजु, दुई भाइ, दुई भतिजा, आफना तीन बच्चा गरी ११ जनालाई उहाँबाट खासेर लगेको थियो । तीस वर्षअघिको घटना सुनाउँदै उनी भन्छन्, “मलाई दैव र दशा एकैपटक लाग्यो ।”
बाढीपहिरोले यसरी सर्वस्व लैजाला भन्ने उनले कल्पनासमेत गरेका थिएनन् । अग्लो डाँडामा घर भएको र तल सानो दुईवटा खोल्सा थिए । यही खोल्सामा बगाएर ल्याएका उत्तिसका रुखका जराहरू अडकेर पानी बारिएर पोखरी बन्न पुग्यो । एक्कासी बाँध फुटेर आउँदा घर बगाएको हुनसक्ने तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टको अनुमान छ । ‘‘डाँडोको बीचमा भएको खोच भरिदै आएर फुटेपछि यसबाट निस्केको वेगले नै घर बगाएको हुनसक्छ’’, उनले भने ।
आखिर विपद्लाई सहनुबाहेक उनको अर्को विकल्प पनि थिएन । उनको यस्तो दुर्दशामा सिंगो गाउँ नै रोइरहेको अवस्थामा सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले गोठमा ओत लगाए । यतिका समय बितिसक्दा पनि उनले परिवार गुमाउनुको पीडाले छोडेको छैन ।
खनाल मात्रै होइन, त्यतिबेलाको विपत्तिमा फेदीगाउँ निवासी हर्कबहादुर तामाङ्ग पनि बाढीपहिरो प्रभावित व्यक्ति हुन् । उनी त्यसबेलाको कहालीलाग्दो अकल्पनीय बाढीपहिरो प्रत्यक्षदर्शी हुन् । यसरी गाउँ नै सखाप पार्ने गरी बाढी आउला भन्ने उनको मनमा पनि कहिल्यै आएको थिएन । तर दैव नटारे भने झै प्रकोपको त्यो बेगले हर्कबहादुरका अगाडि केही लागेन । अन्ततः धेरै घरहरू आफ्नै आँखा अगाडि बगेको देख्दा उनले केही गर्न सक्ने कुरा थिएन ।
बाढी पहिरो आउँछ, सचेत हुनुपर्छ भन्ने खासै सचेतना नपाएका हर्कबहादुरलाई कसरी सुरक्षित बस्ने, पूर्व सूचनाका बारेमा कुनै जानकारी पनि थिएन । उनी भन्छन्,‘‘ त्यतिबेला सूचना दिने चलन पनि थिएन, बाढी आउँछ बगाउँछ भन्ने थाहा भइदिएको भए त गाउँका धेरैलाई बचाउन सकिने थियो कि ।’’
बेला हर्कबहादुरको परिवार फेदीगाउँको स्कुल नजिक बस्ने गरेको थियो । सामान्य परिवारका उनी खेती किसानी तथा व्यापार गरेर जीविकोपार्जन गर्दै आएका थिए । फेदीगाउँमा ढुङ्गामाटोका घरहरू रहेकाले उनीहरू आफनो घर सुरक्षित रहेको महशुस गर्थे । हर्कबहादुरलाई पनि यस्तै लागेको थियो । स्कुलसँग जोडिएको उनले बाढी आउनासाथ हत्तपत्त परिवारलाई स्कुलको राख्न भएकाले अकालमा ज्यान गुमाउन नपरेको उनी बताउँछन् । आफूले परिवार नगुमाए पनि अरुको परिवार गुमेको देख्दा उनको मन थाम्ने अवस्था थिएन । बाढीले आफ्नै आँखा अगाडि घर बगायो, अन्नपात, खसीबोका सबै बगाएको थियो ।
त्यो बेलामा परेको मुसलधारे पानी आफूले अहिलेसम्म अनुभव नगरेको उनी बताउँछन् । त्यस रातको स्मरण गर्दै उनी भन्छन्, ‘‘ चट्याङ्गसहित मुसलधारे वर्षाले त्रसित बनाएको थियो । छिमेकका कुनै घरहरू देखिएका थिएनन् । बिहान उज्यालो भएपछि हेर्दा गाउँमा रहेको स्कुलबाहेक सबै घरहरू बाढीले लगेको थियो । गाँउ पूरै बगरमा परिणत भएको थियो । घर गोठहरू रहेका ठाउँमा ठूलाठूला ढुङ्गाहरू थुप्रिएको थियो । गाँउमा दुईतिर स–साना दुई वटा खोल्सा थिए । यी खोल्साहरू भरिएर दुबै तर्फबाट बाढी आएको थियो ।’’
हाल सो ठाउँ थाहा नगरपालिका–२ मा पर्दछ । नगरपालिका क्षेत्रभित्र भए पनि फेदीगाउँको मुहार फेरिएको छैन । नगरपालिकाका पूर्व प्रमुख लवसेर विष्टले फेदीगाउँ पुनःनिर्माण र बाढीपहिरो नियन्त्रण गरी सुरक्षित गाउँ बनाउने अभियानले अझै पूर्णता पाउन नसकेको बताउँछन् । अहिले पनि फेदी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेको छ ।
हर्कबहादुर जस्तै उतिबेलाको यो विपत्तिका शिकार भएका मकवानपुरको तत्कालीन आग्रा गाविस–८ निवासी डम्बरबहादुर रुम्बासँग पनि यस्तै विपत्तिको कथा छ । घरबाट विद्यालय जाने क्रममा खोला तर्दा कापी किताब र चप्पल खोलाले बगाएपछि उनको स्कुल जाने चाहना पूरा हुन पाएन ।
१३ वर्षको उमेरमा अध्ययनलाई विट मार्दै पैसा कमाउन उहाँ काकाको साथमा राजधानी काठमाडौं छिरे । गरिबीका कारण पढ्न लेख्न समस्या भएको बताउने हर्कबहादुर तीन दिन पैदल यात्रा गरी राजधानी काठमाडौं पुगे । काठमाडौंको कलङ्कीको एउटा होटलमा भाडा माज्ने काम पाए । काम पाएपछि पैसा कमाएर परिवारलाई सुखी राख्छु भन्ने सोच पालेका उनको सपना त्यो दिन लुटियो जुन दिन गाउँमा भीषण पानी परेको थियो ।
२०५० साउन ४ गते रुम्बा आफनो जीवनको कालो दिन सम्झँदै भन्छन्, “बाढीले उनको परिवारमा आमा, बुबा, एक दिदी, दुई भाइ र एक बहिनीलाई बगाएको थियो । मलाई अहिले पनि त्यो दिन कहिल्यै बिसर्न नसक्ने कालो दिन भएको छ ।” उनी राजधानीमा भएका कारण बाँच्न सफल भएका थिए । राजधानीमा काम गर्न थालेको झण्डै आठ महिना भएको थियो । यसबीचमा परिवारसँग देखभेट भएको थिएन । बाढीले घरपरिवारसँगै उनको घरमा भएको अन्नपात, छ वटा खसी एउटा बोको पनि बाँकी रहेनन् र २१ रोपनी खेत पनि बाढीले पुरेर काम गर्न नसक्ने बनाइदियो ।
काठमाडौंबाट धादिङको महादेववेशीमा आइपुग्दा आफूलाई परिवार बाढीमा पुरिएको खबर एकजनाले सुनाएपछि अब एक्लो के बाँच्नु भनेर पुलबाट हामफाल्ने सोच उनमा नआएको पनि होइन । कसैले त्यसो गर्न रोकेपछि चार दिन हिँडेर गाउँ आइपुगेका उनी गाउँ पुग्दा गाउँलेहरूले लास निकाल्ने कार्य गरिरहेको देख्दा उनी निकै भावुक बने । तेह्र वर्षको कलिलो उमेरमा टुहुरो बन्नु पर्दा उनलाई संसार निकै बिरानो लाग्नु स्वभाविकै थियो । अहिले पनि उहाँलाई पटकपटक त्यतिबेलाको विभत्स अवस्थाले झस्काउने गर्दछ । वर्षायाम सुरु भएसँगै फेरि पनि त्यस्तै विपत्ति आइलाग्ने हो कि भन्ने त्रासले उनलाई छाडेको छैन ।
