
छब्बीस दलीय विपक्षी गठबन्धनलाई संक्षेपमा ‘इन्डिया’ भनिने भारतको विपक्षी दल भारतीय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन् ।
विपक्षी गठबन्धनमा संलग्न २६ विपक्षी दलको नयाँ नाम इन्डिया नेशनल डेवलपमेन्टल इनक्लूसिव एलायन्सेस (आईएनडीआईए) हुनेछ ।
“हामी मुम्बईमा फेरि बैठक गर्नेछौं र सिट बाँडफाँट र अभियान व्यवस्थापनबारे छलफल गर्नेछौं,” खड्गेले भने । उनले भने, “देशको यो गम्भीर अवस्थालाई जोगाउन हामी एकजुट भएका हौँ । चाँडै नै संयुक्त वक्तव्य जारी गरिनेछ ।”
सन् २०२४ को लोकसभा चुनावअघि भाजपालाई टक्कर दिन संयुक्त मोर्चा बनाउने रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बसेको हो । खड़गेको घोषणा अघि बिहारका मुख्यमन्त्री नितिश कुमारको नेतृत्वमा रहेको जनता दल (युनाइटेड) ले ट्वीटरमार्फत उक्त जानकारी दिएको थियो ।
काङ्ग्रेस सांसद मणिकम टैगोरले विपक्षी गठबन्धनले लोकसभा निर्बाचनमा जित्ने बताउँदै ट्वीटरमा लेखेका छन्, “इन्डिया’ले जित्नेछ ।”
“चक दे ! ‘इन्डिया’,” तृणमूल काङ्ग्रेसका सांसद डेरेक ओ ब्रायनले ट्वीट गरेका छन् । वर्तमान कांग्रेस नेतृत्वको गठबन्धनलाई संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) भनिन्छ ।
