झोलुङ्गे पुल बनेपछि एक घन्टाको यात्रा १० मिनेटमै

Share:

बागलुङ : जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।

दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७ दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिनाअगावै निर्माण भएको छ ।

काठमाडौंको सस्पेन्सन वृजि डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग विसं २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिनाअगावै निर्माण भएको हो ।

रु एक करोड २५ लाख लागतमा निर्माण गरिएको पुल असार मसान्तमै सकिएर हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इञ्जिनियर निरज सापकोटाले जानकारी दिए ।

“अठार महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो, समयमै भुक्तानी गर्न सकेको भए अझ पहिलै सकिन्थ्यो, सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो”, उनले भने, “पुल निर्माण भएपछि गौदीहुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुनेभयो, पुल अन्तिम प्राविधिक मूल्यांकनपछि पुल हस्तान्तरण गरिने छ ।”

इन्जिनियर सापकोटाका अनुसार ‘डि’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुङ्गे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र दुई सय २७ मिटर लामो झोलुङ्गे पुल पहिलोपटक निर्माण भएको हो ।

साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताए ।

उनका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घन्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ ।

पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिइन् ।

“मध्यपहाडसँग छुटेको गाउँलाई झोलुङ्गे पुलले जोडेर सहज भएको छ, जिल्ला सदरमुकाम जानलाई यहाँका बासिन्दाको एक घन्टाको यात्रा छोटो भएको छ”, उनले भनिन्, “झोलुङ्गे पुल निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्यचौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भएको हो ।”

निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्यांकन पछि हस्तान्तरण गरिने निर्माण कम्पनीका  तीर्थाराम खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: