सरकार जनताको अवस्था बदल्न क्रियाशील छ : प्रधानमन्त्री

Share:

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताएका छन्।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पारे ।

उनले भने, “पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा गरिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।” प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गरे ।

उनले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा मरहठ्ठाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । उनले भने “जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।”

मरहठ्ठाको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने प्रधानमन्त्रीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: