
सैनिक विद्रोहको करिब एक सातापछि पश्चिम अफ्रिकी मुलुक नाइजरले पाँच छिमेकी देशसँगको सिमाना खोलेको छ । नाइजरले स्थल सिमानाका साथै हवाई सीमा पुनः खोलिएको सैन्य विद्रोहमा संलग्न एक जना जनलरलले राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका छन् ।
अल्जेरिया, बुर्किना फासो, लिबिया, माली र चाडसँगको भूमि र हवाई सिमाना पुनः खोलिएको ती सैनिक अधिकारीले घोषणा गरेका हुन् । गत बुधबार नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थ गरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गरेका थिए ।
जनरल टियानीले जहादीहरूद्वारा लामो समयदेखि चलिरहेको विद्रोह अन्त्य गर्न असफल भएको, भ्रष्टाचार र आर्थिक समस्या बढेका तथा सुरक्षा व्यवस्थामा भएको ह्रासलाई सम्बोधन गर्न सत्ता हातमा लिएको बताएका छन् ।
यसैबीच, लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले सैन्य विप्लव प्रभावित नाइजरबाट दुई सय ६२ जनालाई पेरिस पु¥याएको छ । नाइजरमा आफ्ना नागरिक असुरक्षित हुने भन्दै फ्रान्सले त्यहाँबाट उनीहरूलाई स्वदेश पु¥याएको हो ।
