एक दशकपछि अत्यधिक वर्षा

268
0
Share:

कैलाली : कैलालीको कर्णाली चिसापानी क्षेत्रमा २०७१ यताकै बढी  वर्षा भएको छ । वर्षा मापन केन्द्र कर्णाली चिसापानीका अनुसार यही साउन २३ गते बिहान चार सय २४ दशमलव दुई मिलीमिटर वर्षा मापन गरिएको छ । यसैगरी चिसापानी माथिल्लो क्षेत्रमा वर्षा भए ठूलो खतरा हुने जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र चिसापानीकी कर्मचारी पार्वती गुरुङले बताइन् ।

“माथिल्लो क्षेत्रमा पनि यस्तै वर्षा भएको भए नदीमा पानीको बहाव अत्यधिक बढ्ने थियो”, उनले भनिन् । जल तथा मौसम विज्ञान विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका अनुसार यही साउन २४ गते एक सय ४३ दशमलव नौ मिलीमिटर वर्षा मापन भएको छ । चुरे क्षेत्रमा वर्षा भएकाले त्यहाँ पहिरोसमेत गएको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले बताए ।

अहिले पनि मनसुन सक्रिय भएकाले देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । आगामी तीन दिनसम्म पनि देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । आउँदो शनिबारदेखि फेरि मनसुन सक्रिय हुने देखिएको र त्यो समयमा अझै बढी वर्षा हुने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको अवस्था हेर्दा शनिबारदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सचेत रहन मौसमविद् सजिना शाक्यको सुझाव छ । दुई दिन परेको वर्षाका कारण बाढी आउँदा कैलालीका तटीय क्षेत्रमा डुबान भएको छ । डुबान हुँदा हजारौँ नागरिक  प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै पनि भारी वर्षा हुने सम्भावना देखिएकाले तटीय तथा जोखिम क्षेत्रका नागरिकले सतर्क भएर बस्न स्थानीय पालिकाले आग्रह गरेका छन् । कैलालीको टीकापुर, भजनी, जोशीपुर र जानकी गाउँपालिकाले नागरिकलाई सुरक्षित रहन सूचना गरेका छन् । बाढीबाट टिकापुर र भजनीका सयौँ परिवार विस्थापित भएका छन् ।

कैलालीमा बर्सेनि कर्णाली, मोहना, पथरैया, कन्द्रा, खुटियालगायत नदीले दुःख दिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: