
युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ ।
सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग गुमाएपनि आइएसले सिरियाको विशाल मरुभूमिमा लुकेर बसेको स्थानबाट अक्कल झुक्कल आफ्नो उपस्थिति देखाउँदै आएको छ ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले इस्लामिक स्टेट (आइएस)का सदस्यले बिहीबार देइर एजोर प्रान्तमा एउटा सैन्य बसलाई निशाना बनाएको जनाएको छ ।
सिरियामा रहेका स्रोतको नेटवर्कमा निर्भर रहेको बेलायतस्थित उक्त समूहले पछिल्लो आक्रमणमा परी २३ सैनिकको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।
सिरियाको विशाल बाडिया मरुभूमिमा रहेको देइर एजोर प्रान्तको मायादीन क्षेत्रमा जिहादीहरूले बसलाई घेरेर गोली चलाएपछि भएको झडपपछि दर्जनौं (अन्य) सैनिक सम्पर्कमा आउन सकेका छैनन् ।
सिरियाको सरकारी समाचार संस्था सानाले नाम नखुलाइएका एक सैन्य स्रोतलाई उद्धृत गर्दै उक्त ‘आतङ्ककारी हमला’का कारण कैयौँ सैनिक हताहत भएको जनाएको छ ।
सिरियाली सरकारी सेना र उनीहरूका सहयोगी इरानी समर्थित सशस्त्र समूहहरू शुक्रबार बिहान डेर एजोरमा तैनाथ उच्च सतर्कतामा रहेको अब्जरभेटरीले जनाएको छ ।
