सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि कारवाही हुनुपर्छ : कांग्रेस

124
0
Share:
काठमाडौं : नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ ।
कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्की बरामद गरिएको एक क्विन्टल सुन प्रकरण सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले यस्ता घटना विगतमा पनि भएको र पटकपटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको उल्लेख गर्दै त्यस्ता गैरकानूनी कार्य निस्तेज एवं पूर्णरूपले नियन्त्रण हुनु पर्ने माग गरेको छ ।
बैठकले यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने निर्णय गर्दै यस्ता कार्यका लागि अनुसन्धान, छानविन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत सरकारी निकायहरूले छानविन अनुसन्धान गरिरहेको जनाएको छ ।
बैठकले नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Share: