
म्याग्दी : ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रह]की वडा नं १ भुस्कातकी गौरीमाया गुरुङको पढ्ने इच्छालाई उमेरले पनि रोक्न सकेन । उनले ३७ वर्षको उमेरमा अहिले माध्यामिक शिक्षा परीक्षा (एसइई उत्तीर्ण) गरेकी छिन् ।
भुस्कातस्थित जनप्रेम माध्यमिक विद्यालयमा २०५९ सालमा ८ कक्षा पढ्दा नै वैवाहिक जीवनमा बाँधिनुभएकी गुरुङको पढ्ने सपना अधुरै बन्यो । १७ वर्षको उमेरमा विवाहपश्चात् पढाई छोडेकी गुरुङले दुई छोराको जन्म भएपछि पुनः ९ कक्षा पास गर्नुभयो तर घरायसी समस्याका कारण पढाईलाई निरन्तरता दिन सकिनन् ।
“पढ्ने रहर त थियो तर ८ कक्षामै परिवारले विवाह गरिदिए, दुई छोराको जन्म भएपछि पुनः ९ कक्षा पास गरेँ त्यसपछि पढ्न नसक्दा पढ्ने धोको मनमै सङ्गालेर दुई छोरा हुर्काउन लागेँ” उनले भनिन्, “सामाजिक काममा लागेँ, अहिले गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचित भएँ, तर पढ्ने रहर अझै थियो जेठो छोरा अहिले स्नातक दोस्रो वर्ष पढ्दै छ, पढाई छाडेको १६ वर्ष पछि पुनःएसइईको फाराम भरेर घरमै बसेर पढे, परीक्षाको एक महिनाअघि बागलुङ बजारको कोठामै बसेर पढेँ र एसईइमा दुई जिपिए ल्याएर पास भएँ ।”
कार्यपालिका सदस्य भइसकेपछि धेरै सामाजिक काममा लागेँ, धेरै ज्ञान लिइयो तर पढाइको प्रमाणपत्र नहुँदा धेरै समस्या भोग्नुपरेकाले परिवारको सहयोगमा खुला विद्यालयअन्तर्गत बागलुङको विद्यामिन्दर माध्यामिक विद्यालयमार्फत यसै वर्ष एसइई पास गरेको उनले बताइन् ।
अहिले गाउँकै जनप्रेम माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना भइसकेको बताउँदै गुरुङले व्यावहारिक ज्ञान भए पनि प्रमाणपत्र नहुँदा विगतमा भोगेको समस्या अब आफूलाई नहुने र इच्छाशक्ति भए उमेरले बढ्न नछेक्ने बताइन् ।
सानै उमेरमा विवाह गरेकै कारण पढ्न नपाएको र अहिले श्रीमान्कै सहयोगमा सपना पूरा हुन थालेको उनको भनाइ थियो । सोही गाउँपालिकाकै वडा नं ५ रानीबास निवासी पार्वती पुन रोकाले विद्यालय छोडेको ११ वर्षपछि पुनःअध्ययन गरेर अहिले कक्षा १२ पास गरेकी छिन् ।
सोही गाउँपालिका–५ को वडा सदस्यसमेत रहेकी रोकाले स्थानीय नेपाल माध्यमिक विद्यालयमा कक्षा ९ अध्ययन गर्दागर्दै वैवाहिक जीवनमा बाँधिएका कारण पढाइलाई पूर्णविराम लगाए पनि पढ्ने इच्छा भने बाँकी नै रहेको बताइन् । ठूलो छोरीले इसइई दिएपछि आफूले कक्षा १२ पास गरेको उनले बताइन् ।
“एघार वर्षअघि विद्यालय छोडेँ त्यो पारिवारिक समस्या थियो, जनप्रतिनिधि भइसकेपछि विभिन्न भेला तथा बैठकमा सहभागी हुँदा पढाइको कुरा आउँथ्यो, आफूमा पढ्ने धोको पनि थियो”, रोकाले भनिन्, “११ वर्षपछि इसइई हुँदै कक्षा ११ र १२ पास गरे पढाइका लागि उमेर हैन इच्छा शक्ति चाहिँदोरहेछ भन्ने लाग्छ, अन्य दिदीबहिनीहरू जसले विवाहका कारण पढाइ छोड्नुभयो उहाँहरूलाई समेत हौसला मिल्न थालेको छ ।” रोकाको दुई वटा छोरीमध्ये ठूलो छोरीले इसइई पास र कान्छी छोरीले ७ कक्षामा पढ्दै छिन् ।
विद्यालय नगए पनि घरमै बसेर अध्ययन गरी कक्षा १२ पास गरेपछि अहिले समाजले हेर्ने दृष्टिकोण नै फरक पाइएको उनको अनुभव छ । आधारभूत पढाई आवश्यक रहेको भन्ने महसुस भएपछि पुनः ११ वर्ष पछि आफू पढ्न थालेको र अहिले श्रीमान्कै सहयोगमा ३३ वर्षको उमेरमा १२ पास गर्न सफल भएको रोकाले बताइन् ।
