चार दशकमा दोब्बर जनसंख्या

Share:

महोत्तरी : महोत्तरीमा चार दशकको अवधिमा जनसंख्या करिब दोब्बर भएको छ । विसं २०३८ र पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकले सो अवधिमा जनसंख्या झन्डै दोब्बर देखाएको हो ।

विसं २०३८ मा जिल्लाको जनसंख्या तीन लाख ६१ हजार ५४ रहेकामा २०७८ सालको जनगणनामा जिल्लाको जनसंख्या सात लाख छ हजार नौ सय ९४ पुगेको तथ्यांक कार्यालयले जनाएको हो ।

उक्त जनसंख्या २०३८ सालकोभन्दा दोब्बर हुन मात्र १५ हजार १४ ले कम छ । पछिल्लो जनसंख्यामा महिला तीन लाख ५७ हजार आठ सय ३५ (५० दशमलव ६७ प्रतिशत) र पुरुष तीन लाख ४९ हजार एक सय ५९ (४९ दशमलव ४० प्रतिशत) रहेको केन्द्रीय तथ्यांक विभागको प्रामाणिक अभिलेखलाई उद्धृत गर्दै कार्यालय प्रमुख श्याम साहले बताए ।

जिल्लामा सबैभन्दा बढी जनसंख्या भएका जातिगत समुदायमा क्रमशः यादव, मुस्लिम, धानुक, कोइरी, तेली, मुसहर, चमार, खत्वे र पासवान रहेका छन् । तथ्यांकअनुसार यादव एक लाख १० हजार सात सय २९ (१५ दशमलव ६६ प्रतिशत), मुस्लिम एक लाख सात हजार तीन सय ७३ (१४ दशमलव ६९ प्रतिशत), धानुक ४५ हजार दुई सय ५१ (छ दशमलव चार प्रतिशत), कोइरी ४० हजार तीन सय ८१ (पाँच दशमलव ७१ प्रतिशत), तेली २९ हजार नौ सय ५३ (पाँच दशमलव ७१ प्रतिशत) र मुसहर २७ हजार तीन सय ५२ (तीन दशमलव ८७ प्रतिशत) छन् । यसैगरी कम जनसंख्या रहेका जातिगत समुदायमा सबैभन्दा कम सिख दुई जनामात्र छन् ।

यसैगरी बेलदार ११, कुशबरिया १४, राना थारु १६, कमर र आठपहरिया १८÷१८, लिम्बू २०, जैन २६, राजवंशी २८, हायु ४१ र शेर्पा ५१ जनामात्र छन् । यिनमा हिन्दू धर्म मान्ने सबैभन्दा बढी पाँच लाख ८४ हजार पाँच सय १३ (८२ दशमलव ६७ प्रतिशत) छन् ।

यसैगरी इस्लाम धर्म मान्ने एक लाख नौ हजार नौ सय १४ (१५ दशमलव ५४ प्रतिशत), बौद्ध परम्परामा १० हजार नौ सय ५३ (एक दशमलव ५५ प्रतिशत), इसाइ एक हजार एक सय ३७ (० दशमलव १६ प्रतिशत), प्रकृति दुई सय ३० (० दशमलव ०३ प्रतिशत), किरात दुई सय १९ (० दशमलव ०३ प्रतिशत), जैन २६ (० दशमलव ००३ प्रतिशत) र सिख दुई जनामात्र अर्थात् (० दशमलव ०००३ प्रतिशत) राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

जिल्लामा जम्मा एक लाख ४० हजार सात सय ३० घर छन् । जसमा ७९ प्रतिशत आवास, सात दशमलव ०७ प्रतिशत गोठ, धन्सर, मतान, व्यापार प्रयोजनका तीन दशमलव ०१ प्रतिशत छन् ।

जिल्लाको कूल साक्षरता प्रतिशत ५९ दशमलव आठ रहेकामा पुरुष साक्षरता ६८ दशमलव चार र महिला ५१ दशमलव प्रतिशत रहेका छन् । जिल्लाको पछिल्लो दशकको जनसंख्या वृद्धिदर एक दशमलव १४ प्रतिशत र लैङ्गिक अनुपात ९७ दशमलव ५८ प्रतिशत रहेको प्रकाशित तथ्यांकमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
Share: