राष्ट्रसंघविरुद्धको प्रदर्शनमा दश जना मारिए

Share:

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसंघविरुद्धको नियोजित  विरोधप्रदर्शन सैनिकहरूले  रोक्ने प्रयास गरेपछि भएको झडपमा  कम्तीमा १० जनाको मृत्यु भएको छ  ।

प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई भर्ना गरिएको तथा तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आक्रोशित भीडले एक जना प्रहरीलाई पनि मारेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सुव्यवस्था कायम गर्न सन् १९९९ देखि तैनाथ शान्ति सेना खनिजको भण्डार पूर्वी कङ्गोमा तैनाथ गरिएको छ । अतिवादीलाई ठेगान लगाउन नसकेकामा शान्ति सैन्य यहाँ निकै आलोचित छ । राष्ट्रसंघीय यो शान्ति मिशन  सबैभन्दा ठूलो र महँगो हो । यसको वार्षिक बजेट चार अर्ब अमेरिकी डलर छ । शान्ति मिशनमा १६ हजार सैनिक छन् । ग्याबोनमा पनि सैन्य विद्रोह,  गणतन्त्रका सबै संस्था भङ्ग

मध्यअफ्रिकी मुलुक  ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता लिएको बताएका छन् ।

सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि उनीहरूले गरेका छन् ।आम निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गो विजयी घोषित भएका छन् ।

विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोन्गोले दुई तिहाइ मतले  जितेको निर्वाचन आयोगले बताएको छ । बोङ्गो अपदस्थ भएसँगै ग्याबोनमा उनको परिवारको ५३ वर्षको सत्ताको अन्त्य हुनेछ । अफ्रिकाको प्रमुख तेल उत्पादकमध्येको एक ग्याबोनको ९० प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोनमा ५५ वर्षभन्दा बढी समयदेखि एउटै परिवारले शासन गर्दै आएको छ । शनिबारको निर्वाचनमा तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका ६४ वर्षीय बोङ्गोका पिताले झण्डै ४२ वर्ष सत्ता सम्हालेका थिए । सन् २००९ मा आफ्ना बुबा ओमरको निधन भएपछि उनले कार्यभार सम्हालेका थिए ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

कमेन्ट गर्नुहोस्
Share: