
युद्ध, विनाशकारी भूकम्प र गहिरो आर्थिक सङ्कटको सामना गर्दै सरकार नियन्त्रित क्षेत्रमा रहेका करिब ४० लाख सिरियाली विद्यार्थी आइतबार विद्यालय फर्केका छन् ।
तर संयुक्त राष्ट्रसङ्घका अनुसार धेरै शैक्षिक सुविधाहरू क्षतिग्रस्त वा नष्ट भएको र ९० प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देशमा धेरै बालबालिकालाई राख्ने कक्षाकोठा समेतको अभाव छ ।
सिरियाको शिक्षा मन्त्रालयले शनिबार विद्यालयहरूलाई विद्यार्थीहरूको लागि आवश्यक लगार्नी कम गर्न ‘विद्यालय पोशाकका लागि कडा नियम लागू नगर्न आग्रह गरेको राज्य सञ्चालित समाचार संस्था, सानाले जनाएको छ ।
सानाले भनेको छ, “देशले सामना गरिरहेको कठिन आर्थिक अवस्थालाई ध्यानमा राख्दै र जनसङ्ख्यामा वित्तीय बोझ कम गर्ने प्रयासको एक भागको रूपमा यी उपायहरू प्रस्तुत गरिएको छ ।”
करिब ३७ लाखभन्दा बढी विद्यार्थीका लागि१४ हजार ५०५ विद्यालयबाट पठनपाठन गराउने गरी शैक्षिक सत्र २०२३/२०२४ सुरू भएको छ ।
सिरियामा सन् २०११ पछि भएको रक्तपातपूर्ण द्वन्द्वका कारण पाँच लाखभन्दा बढीको ज्यान गइसकेको छ, लाखौं मानिस विस्थापित भएका छन् र देशलाई आर्थिक सङ्कटमा धकेलेको छ ।
युद्धले शैक्षिक पूर्वाधारको व्यापक विनाश गरेको छ जसले गर्दा शैक्षिक सुविधाहरूमा असर पारेको छ, धेरै विद्यालय भवनहरू भत्किएका छन् र कैयौं आश्रयस्थलहरूमा परिणत भएका छन् ।
“सन् २०२३ को फेब्रुअरीमा गएको भूकम्पअघि पनि तीनमध्ये एक विद्यालय सेवाविहीन थिए,” संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकायले हालै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।
