
काठमाडौं : महिनावारी अभियन्ता तथा डा राधा पौडेलले महिनावारीलाई मर्यादित बनाउन खुलेर बहस गर्न जरुर रहेको बताउनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) द्वारा सोमबार आयोजित ‘मर्यादित महिनावारी विषयक अन्तरक्रिया’ मा उनले अन्य दिनमा जस्तै महिनावारी समयमा व्यवहार, गराइमा एकरुपता ल्याइ मर्यादित महिनावारी कायम गर्न सबैले खुलेर बहस गर्न आवश्यक रहेको बताए ।
हरेक पुरुषले महिनावारीलाई मर्यादित बनाउनुपर्छ भन्ने अभियानमा खुलेर सार्वजनिक रुपमा आएमा लैङ्गिक समानता, यौन तथा प्रजनन स्वास्थ अधिकारको सुनिश्चितता र मानव अधिकारको प्रवर्द्धन गर्न धेरै समय नलाग्ने उनले दाबी गरिन् । महिनावारीलाई मानव अधिकारका दृष्टिकोणले खुलेर विश्लेषण र सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।
मनोवैज्ञानिक, मनोसामाजिक लगायतका व्यक्तिगत समस्याले महिनावारी समयमा केही व्यक्तिलाई बढी मात्रामा पेट, हातगोडा, टाउको दुख्ने लगायतका समस्या देखापर्ने भएता पनि दुखाइ कम गर्ने औषधिको प्रयोगले कलेजोमा असर पार्ने हुनाले सोको प्रयोग नगर्न समेत उनले आग्रह गरिन् ।
“हामी विभिन्न चाडपर्व मनाउन, महिनावारीको समयमा दुखाइ कम गर्न औषधिको प्रयोग गर्ने गर्छौ । तर त्यो गलत हो । जसले कलेजोलाई असर गर्छ । दुखाइ कम गर्न घरेलु उपचार विधि अपनाउ, चाडपर्व मनाउन मानसिकता परिवर्तन गरौँ”, उनले भनिन्, “औसतमा महिनाभरी २४ दिन र ५ दिनको महिनावारी समयमा गर्ने कार्य समान भएमा मात्र मर्यादित महिनावारी मानिन्छ । जसमा स्वयं परिवारको ठूलो भूमिका हुन्छ ।”
पश्चिमका विपन्न तथा अशिक्षित परिवारले अँगालेको छाउपडी र सहरमा बस्ने शिक्षितले महिनावारीको समयमा पूजा गर्न नहुने भन्ने मानसिकता छाउपढी सरह हुने उनले जिकिर गरिन् ।
कार्यक्रममा रेडियो नेपालका कर्मचारीलगायत सम्बन्धित व्यक्तिले महिनावारीका समयमा देखापरेका आआफ्ना समस्या राखेका थिए । व्यक्ति स्वयं सजग भई महिनावारीका सम्बन्धमा बहस गर्नुपर्ने, अनावश्यक भ्रमलाई त्याग्नुपर्ने, शहरमा झन बढी महिनावारीमा विभेद रहेको, महिनावारीको विषयमा परिवारमा आवश्यक बहस गर्नुपर्ने, घर, समाज, धर्म संस्कृति, मिडिया, विद्यालयले सिकाएका महिनावारीका भ्रमका विषय हटाउनुपर्ने लगायतका विषय छलफलमा उठाएका थिए ।
रेडियो नेपालका कर्मचारी चन्दा विष्टले समाज परिवर्तनको सुरुआत व्यक्ति स्वयंबाट गर्न सकिने बताउँदै सकारात्मक कार्यको सुरुआत सदावहार सौन्दर्य पक्ष रहनाले स्वयं व्यक्ति र परिवारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन् ।
