उपन्यास ‘अन्तर’को पोखरामा परिचर्चा

Share:

 

कास्की : र्‍यान्डम रिडर्स सोसाइटीको शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’को पोखरामा शनिबार परिचर्चा गरिएको छ । उपन्यासको परिचर्चा गर्दै गणेश कार्कीले सामाजिक विभेद तथा यौनिक अल्पसंख्यकका बारेमा जान्न चाहनेका लागि ‘अन्तर’ पढ्नैपर्ने कृति भएको बताए ।

यौनिक अल्पसंख्यकको विषयमा लेखिएको उपन्यास अन्तरको मूलकथासँगै समाजको भोगाइ, सोचाइ पनि समेटिएको उनको भनाय छ । उपन्यासले समलिङ्गीले भोग्नुपर्ने अप्ठ्यारा र गर्नुपर्ने सङ्घर्षको कथा उल्लेख गरेको बताउँदै उनले उपन्यास सकेपछि समलैङ्गिकतालाई समस्या ठान्ने समाजको मनस्थिति नै समस्या हो भन्ने निष्कर्षमा आफू पुगेको बताए । “नेपाली साहित्यमा राम्रो उपन्यास पढ्न चाहने, सामाजिक विभेद बारे जान्न चाहने, अप्लसंख्यक त्यसमा पनि यौनिक अल्पसंख्यकका बारेमा जान्न चाहनेले पढ्नपर्ने उपन्यासको सूचीमा राख्छु म”, उनले भने ।

उपन्यासकार सायनले आफ्नै घरमा छोराछोरीका बीचमा देखेको विभेद्बाट प्रभावित भएर फरक विषयमा कृति लेख्ने प्रेरणा पाएको सुनाए । कतिपय बौद्धिक वर्गका मानिसले नै समङ्गिी हुनुलाई प्राकृतिक कुरा नभइ मानसिक समस्याका रूपमा लिने गरेको अनुभव सुनाउँदै उनले यस्तो सोच जटिल समस्या भएको बताए ।

सरल शैलीमा फरक लैङ्गिक विशेषता भएको वर्गको कथा लेखेको बताउँदै उनले यौनिकताका सम्बन्धमा सामाजिक मनोविज्ञान परिवर्तन हुनुपर्नेमा जोड दिए । उनले यसअघि भागेर भूगोलभरि (कविता संग्रह) र छुटेका अनुहार (निबन्ध संग्रह) प्रकाशन गरिसकेका छन् ।

र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले सोसाइटीले परिचर्चाको शतक शृङ्खलामा सायनको उपान्यास ‘अन्तर’ को परिचर्चा गर्न पाएको उल्लेख गरे ।

सोसाइटीका संस्थापक गनेस पौडेलले यौनिक अल्पसंख्यकका विषयमा लेखिएको भए पनि सबैलाई छुने सामथ्र्य ‘अन्तर’मा पाएको धारणा राखे । लैङ्गिक अल्पसंख्यक अगुवा रजनी थकालीले तेस्रो लिङ्गीको अवस्थामा क्रमशः परिवर्तन भएको अवस्था ‘अन्तर’मा प्रस्तुत गरिएकोमा धन्यवाद व्यक्त गर्दै यस्ता विषयमा कृति तयार पार्दा सम्बन्धित पक्षसँग समन्वय गर्दा त्यहाँभित्रका वास्तविक कुरा आउने उल्लेख गरे ।

परिचर्चमा सोसाइटीका सचिव नेपाल प्रकाश अधिकारी, रीना थापा(तानी), गीता लामिछाने, रीता अधिकारी ‘ऋतु’, डा भूमिराज बस्ताकोटी, प्रेम बाबालगायतले भनाइ राखेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: