
कास्की : पोखरा महानगरपालिकाले विद्यालयहरू पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएको छ ।
शिक्षक महासंघद्वारा काठमाडौंमा आन्दोलन गरिरहेको अवस्थामा महानगरका मेयर धनराज आचार्यद्वारा जारी विज्ञप्तिमा शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गरेको जनाइएको छ ।
“नेपाल सरकारद्वारा हालै संघीय संसद्मा दर्ता गरेको संघीय शिक्षा ऐन २०८० प्रति असहमति जनाउँदै शिक्षकहरूद्वारा घोषित आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन बन्द भएकोप्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ “, जारी विज्ञप्तिमा भनिएको छ ।
शिक्षकहरूले आफ्नो हकहित र वृत्ति विकासलगायतका सवालमा राखेका कतिपय मागहरूप्रति स्थानीय सरकारका नाताले पोखरा महानगरपालिका संवेदनशील रहेको पनि जारी विज्ञप्तिमा भनिएको छ ।
“यद्यपि विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरूसमेत अवरुद्ध हुने गरी आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउँदा विद्यार्थीहरूको निर्बाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन हुन पुगेको छ । विद्यालय क्षेत्र शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई विनाअवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पूर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ”, जारी विज्ञप्तिमा भनिएको छ ।
