छरुवा (डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

234
0
Share:

कञ्चनपुर : बेदकोट नगरपालिका–८ का रणबहादुर मल्ल सेवानिवृत्त कृषि अधिकृत हुन् । लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा उनी लागेका छन् ।

धानको उत्पादन बढाउनका लागि उनले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाएका छन् । रोपेको धानभन्दा खेतमा छरेको धान फस्टाउँदो छ । कृषक मल्लले चिस्यानयुक्त खेतमा उपकरणको सहायताले सिधै उन्नत जातको युएस तीन सय पाँच जातको धान छरेका हुन् ।

“यस प्रविधिबाट  धान रोप्न खेत हिल्याउनु पर्दैन”, कृषक मल्ल भन्छन्, “ रोपाहाको खोजी गरी खेतमा धान रोप्नुभन्दा सिधै खेतमा सिड ड्रिल मेसिन प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।” परम्परागत विधिको तुलनामा यस प्रविधिबाट लगाइएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

एक बिघा जग्गामा परम्परागत विधिमा लगाइएको धानभन्दा यस प्रविधिबाट  लगाइएको धानका लागि रु १५ हजारदेखि रु २० हजार कम लाग्ने गरेको उनी बताउँछन् । “छरुवा विधिबाट लगाइएको धानको बालामा तीन सय ८० देखि चार सय दाना लागेका छन्”, कृषक मल्ल भन्छन्, “परम्परागत विधिबाट रोपाइँ गरी लगाइएको धानमा अधिकमा एकसय ६० दाना मात्रै छन् तर यो प्रविधिबाट लगाइएकोे धानको उत्पादन दोब्बरले बढी भएको छ ।”

चार बिघा जग्गामा छरुवा विधिबाट धान खेती गरेका उनमा धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा लिजमा लिएर धान खेती गर्ने सोच पलाएको छ ।

कृषक मल्लकै प्रेरणाले बेदकोट नगरपालिका–३ का किसान दीपेन्द्र रावलले पनि छरुवा विधि प्रयोग गरी एक हेक्टर जमिनमा धान खेती गरेका छन् । उपकरणको प्रयोगबाट  खेतमा धान छर्न थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उनी स्मरण गर्छन् ।

“धानका बोटले गाँड फोडेर जब बाला लाग्न सुरु भए मुखामुख गर्नेहरू यसै प्रविधिको प्रयोग गरी अर्को वर्षदेखि धान खेती गर्छौं भन्न थालेका छन्”, रावल भन्छन्, “अर्को वर्षदेखि छिमेकका २५  किसानले यही प्रविधिबाट  धान खेती गर्ने भएका छन् ।” डेढ बिघा जग्गामा रोपाइँ गरेर धान खेती गर्दा मुस्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उनी बताउँछन् ।

आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोब्बर बढी हुनेमा उनी विश्वस्त हुन् । “खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु”, कृषक रावल भन्छन्, “यसरी खेतमा धान झुलेको पहिलो पटक नै हो, लोभलाग्दो छ, नगरपालिकका कृषि जेटिए पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन् ।”

पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको उल्लेख गर्दै उनी अर्को वर्षदेखि व्यवस्थित तरिकाले खेती गरी बढी उत्पादन लिने बताउँछन् । यस प्रविधिबाट धान खेती गर्दाप्रति हेक्टर पाँच मेट्रिकटन धान उत्पादन हुने सेवा निवृत्त कृषक मल्लको भनाइ छ ।

थोरै सिँचाइ गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्ति प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घट्ने उनी बताउँछन् ।

“जलवायु परिवर्तका कारण केही वर्षयतादेखि मनसुनी वर्षा ढिलो हुँदै आएको छ”, कृषक मल्ल भन्छन्, “परम्परागत प्रविधिले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अवस्थामा छरुवा धान खेती प्रविधि उयुक्त छ ।”

कृषक मल्लले आफूले मात्रै यस्तो प्रविधिबाट  धान खेती नगरेर अरू किसानलाई पनि यसबारे जानकारी गराई उन्नत धान खेती गर्नतर्फ किसानलाई उत्प्रेरित गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: