दुई अर्ब १५ करोड खर्चेर पैदलमार्ग मर्मत गर्दै काठमाडौं महानगर

135
0
Share:

 

काठमाडौं  : काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्नेभएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक सुरेशकुमार राईको भनाइ छ ।

हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा  छ ।

महानगरका अनुसार हाल वडा-२६ लैनचौरबाट वडा-१६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ । वडा-२६ लैनचौरबाट वडा-२ को लाजिम्पाट, वडा-३ को महाराजगञ्जहुँदै चक्रपथसम्मको खण्डका लागि रु १० करोडमा सम्झौता भइसकेको छ ।

साथै वडा-२८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ । यसको लागत रु तीन करोड ७८ लाख रहेको छ । वडा-११ को त्रिपुरेश्वरदेखि वडा-२२ सुन्धारा, वडा-२७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमलहुँदै वडा-२६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ निर्देशक राईले जानकारी दिए ।

महानगरको वडा-४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु छ करोड ३५ लाखमा सम्झौता भएको छ ।  वडा-३२ को तीनकुनेदेखि वडा-९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गाहुँदै वडा-८ को गौशालासम्मका लागि रु छ करोड ६९ लाखमा सम्झौता भएको छ । त्यसैगरी वडा-१० नयाँबानेश्वरदेखि वडा-९ पुरानो बानेश्वरसम्मका लागि रु तीन करोड २३ लाख बजेट बिनियोजन गरिएको छ ।

वडा-२८ को बागबजारदेखि वडा-२९ चारखाल, वडा-३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा-९ को पुरानो बानेश्वर, वडा-३१ को भीमसेनगोलाहुँदै वडा-९ को सिनामङ्गल सडक खण्डका लागि रु १० करोड बजेट छुट्याइएको छ ।

साथै वडा-१३ को कालीमाटीदेखि सोल्टीमोडहुँदै वडा-१४ को कलङ्कीसम्म, वडा-८ को गौशालादेखि वडा-७ को चावहिलसम्म, वडा-८ गौशालादेखि वडा-९ रातो पुलसम्मको सडक खण्डलाई  १० करोड खर्च हुने अनुमान गरिएको छ ।

अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ । चालू आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु  सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: