
काठमाडौँ- इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको हो।
राष्ट्रिय शोकका दिनमा देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ।
‘यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय क्याबिनेटले गरेको छ,’ सोमबारको पत्रकार सम्मेलनपछि मन्त्री शर्माले बताएकी थिइन्।
इजरायल सरकारसँग समन्वय गरी आक्रमणमा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने निर्णय पनि सरकारले गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिने अर्न एन्ड लर्न प्रोग्रामका लागि इजरायल पुगेका १० जनाको हमास समूहको आक्रमणमा परी मृत्यु भएको थियो।
मृत्यु हुनेहरूमा नारायण प्रसाद न्यौपाने (कैलाली, घोडाघोडी–४), गणेश कुमार नेपाली (बझाङ, जयपृथ्वी–६), आशिष चौधरी (कैलाली, बौनिया–३), दिपेश राज विष्ट (दार्चुला, लेकम–५), आनन्द साह (धनुषा, सपही–६), राजेश कुमार स्वर्णकार (सुनसरी, मधुवन–१), राजन फुलारा (डोटी, पचनली–३), पदम थापा (डोटी, लामिखाल–८), प्रवेश भण्डारी (सल्यान, शारदा–३), लोकेन्द्रसिं धामी (दार्चुला, मालिकार्जुन–४) रहेका छन्।
इजरायलमा सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्। सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
कञ्चनपुर भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन रहेको बताइएको छ।
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।
विश्वविद्यालयहरूले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए।
३२ जनालाई भने सुरक्षित स्थानमा सारिएको छ।
शनिबार हमासले अचानक इजरायली सहर सेदोत नेगभसहितका सहरमा अप्रत्याशित रूपमा आक्रमण गरेको थियो।
मन्त्री साउदका अनुसार इजरायलमा अहिले ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन्। यस्तै दुई सय ६५ जना विद्यार्थी पनि रहेको उनले बताएका थिए।
शनिबार हमासको आक्रमणपछि इजरायलले पनि आक्रमण थालेको छ। अहिले युद्ध जारी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै पक्षका गरी ८ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।
