
चीनले खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राखेकै बेला भ्रष्टाचारको आरोपमा एक पूर्व खेलकुद अधिकारीलाई पक्राउ गर्न आदेश दिएको सरकारी सञ्चारमाध्यमले मङ्गलबार बताएको छ।
सत्ताधारी कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
चिनियाँ राष्ट्रपति सि जिनपिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिनुभएको छ। इमान्दार शासन सुनिश्चित गर्न यस्तो अभियानले सहयोग पुर्याउने समर्थकहरूको भनाइ छ तर यस्तो कदमले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन राष्ट्रपति सिलाई अनुमति दिने आलोचकहरूले बताएका छन्।
‘चीनको सर्वोच्च पिपुल्स प्रोक्योरमेन्ट (एसपीपी) ले घुस लिएको आशङ्कामा डु जाओकाईलाई पक्राउ गर्न आदेश दिएको छ’, सरकारी समाचार समिति सिन्ह्वाले भन्यो, ‘उक्त विषय अनुसन्धानका लागि प्रोक्युरेटोरियल अधिकारीहरूलाई पठाइएको थियो र राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानको निष्कर्षपछि आरोप लगाइएको हो।’
यसअघि शनिबार सिन्ह्वाले डुले गैरकानूनीरूपमा उपहार र पैसा स्वीकार गरेको तथा व्यवसाय सञ्चालन र कर्मचारी भर्तीमा फाइदा लिन आफ्नो पदको दुरुपयोग गरेको बताएको थियो। सीसीपीले उनलाई निष्कासन गर्नुका साथै उनको अवैध सम्पत्तिसमेत जफत गर्नेछ।
यस वर्ष चीनले अनुसन्धान गरेको खेलकुद क्षेत्रको भ्रष्टाचारका बढ्दो संख्यामा डुको नाम पनि समावेश थियो। उक्त सूचीमा चीनको उच्च व्यावसायिक फुटबल लिगका प्रमुख लिउ जुन र पूर्वराष्ट्रिय फुटबल कोच लि तेइ पनि समावेश छन्। उनीहरूलाई घुस लिएको र फौजदारी अभियोग लगाइएको छ।
गत जुनमा म्याच फिक्सिङ प्रकरणमा सामेल भएको आरोपमा चीनको राष्ट्रिय स्नकुर संस्थाले दुई खेलाडीलाई स्नुकर खेलबाट आजीवन प्रतिबन्ध लगाएको थियो।
