माटो बेचेर दशैँ खर्चको जोहो

148
0
Share:

 महोत्तरी: दशैँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडबाडको खर्च जोहोमा लागेका छन्। दशैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैँ खर्चको जोहोमा लागेका हुन्।

 

अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन्। दशैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो संकलनमा लागेका छन्।

मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन्। यस्ता घरका भित्ता बर्सेनि दशैँ, तिहार र छठअघि माटोले पोतेर रंग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ। यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन्। अहिले फरक-फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन्।

 

‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चुरे नै पुग्नुपर्छ’ सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास-३ को चुरे थुम्को पुगेका भंगाहा नगरपालिका-३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्छन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दशैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ।’ रातो माटो एक बोरा (४० किलो) घर पुर्‍याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उनी बताउँछिन्।

 

पितृपक्ष सकिएर दशैँ प्रारम्भ भइसकेको छ। गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन्। माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही-७ की पारोवती ठाकुरले बताइन्। अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने  र ओसार्ने काममा व्यस्तता देखिन्छ।

 

बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिनुभएकी भंगाहा-४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भनिन्, ‘कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ।’

 

मधेसका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो संकलनको होड चलेको छ। यी समुदायका  महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन्। भंगाहा-५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्छन्, ‘घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैं उम्दा देखिन्छन्।’

 

दशैँमा थारु, बाँतर र मुसहर  महिलाको साथसंगतले अन्य जाति समुदायका महिला पनि अहिले माटो संकलनमा लागेका छन्। दशैँअघि माटो जम्मा गर्नसके दशैँ मेलामा रमाउन र स-साना नानीको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने गौशाला-१ रामनगरकी पवनवती महरा बताउँछिन्। मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ। प्रत्येक वर्षको दशैँमा घर पोत्ने चलन छ।

कमेन्ट गर्नुहोस्
Share: