हमास बन्धक वार्ताका लागि थाई विदेशमन्त्री कतार र इजिप्ट जाने

217
0
Share:

इजरायलमाथिको हमलामा हमासद्वारा बन्धक बनाइएका २२ थाई नागरिकका बारेमा कुराकानी गर्न मङ्गलबार थाइल्यान्डका विदेशमन्त्री पर्णप्री बहिद्धा–नुकाराले कतार र इजिप्टको आकस्मिक भ्रमण गर्नुभएको छ ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा गाजापट्टीबाट हमासले इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढी मानिस मारिएका छन् ।

जवाफमा इजरायली सेनाले गाजामा हमला गरेको छ । हमलामा तीन हजारभन्दा बढी बालबालिकासहित आठ हजार तीन सय मानिस मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो तथ्याङ्कानुसार गाजामा हमासले दुई सय ३० जनालाई बन्धक बनाएको छ । थाई विदेश मन्त्रालयका अनुसार तीमध्ये २२ जना थाई नागरिक छन् ।

प्रधानमन्त्री श्रेथा थाभिसिनले सोमबार थाई नागरिकहरूलाई स्वदेश फर्काउन कडा मेहनत गरिरहेको बताएका थिए । उनले बुधबार इजिप्टका विदेशमन्त्रीसँग कुराकानी गर्नुअघि मङ्गलबार कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग भेट्नका लागि विदेशमन्त्री पर्णप्रीलाई कतार पठाएका छन् ।

पर्णप्रीले इजरायल र गाजामा जारी हिंसाका कारण बन्धक बनाइएका थाई नागरिकको स्थितिका बारे कुराकानी गर्नुहुने विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

द्वन्द्व सुरु हुँदा इजरायलमा करिब ३० हजार थाईले काम गरिरहेका थिए । तीमध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न थिए । मन्त्रालयका अनुसार द्वन्द्वमा कम्तीमा ३२ थाई नागरिकको मृत्यु र १९ जना घाइते भएका थिए ।

“हामी युद्धका पीडितहरू जस्तै छौँ”, छिमेकी मुलुक लाओसको भ्रमण गर्नुअघि सोमबार प्रधानमन्त्री श्रेथाले पत्रकारहरूसँग भने, “इजरायलमा अन्य देशको तुलनामा थाई नागरिक धेरै भएकाले हामी सबैभन्दा बढी प्रभावित भएका छौँ ।”

 

कमेन्ट गर्नुहोस्
Share: