
बङ्गलादेशको राजधानी ढाकामा मजदुरको ज्याला तीन गुणा बढाउन माग गर्दै सुरु भएको विरोध प्रदर्शनको अवज्ञा गर्दै कारखानाहरू पुनः सञ्चालनमा आएपछि शनिबार राजधानी ढाका नजिकै हडतालरत गार्मेन्ट मजदुर र प्रहरीबीच झडप भएको छ ।
बङ्गलादेशका करिब तीन हजार ५०० गार्मेन्ट कारखानाहरूले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब अमेरिकी डलरको निर्यातको लगभग ८५ प्रतिशत हिस्सा ओगटेका छन् । बङ्गलादेशले लेभिज, जारा र एच एन्ड एमलगायत फेसन ब्राण्डमा विश्वभर तयारी पोशाक आपूर्ति गर्दछ । तर, यस क्षेत्रका ४० लाख कामदारमध्ये अधिकांशको अवस्था दयनीय छ । न्यून आयभउका कामदारमध्ये अधिकांश महिलाहरू छन् जसको मासिक ज्याला आठ हजार ३०० टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।
हडतालका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमा एक सातादेखि बन्द रहेका करिब ६०० व्यवसाय पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
तर राजधानी ढाकाको पश्चिममा रहेको औद्योगिक शहर आशुलियामा करिब १० हजार कामदारले आफ्ना सहकर्मीलाई सिफ्टमा फर्कन बाट रोक्ने प्रयास गरेपछि झडप भएको प्रहरीले जनाएको छ ।
आशुलियाका प्रहरी प्रमुख मोहम्मद सरोवर आलमले एएफपीसँग भने, “उनीहरूले अधिकारी र कारखानाहरूमाथि ढुङ्गा र इँटा प्रहार गरे र सडक अवरुद्ध गर्ने प्रयास गरे ।”
“हामीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितरबितर पारेका छौँ”, उनले भने, “त्यहाँ र नजिकैको सावरमा एक हजार ५०० सुरक्षाकर्मी तैनाथ गरिएको छ ।”
स्थानीय प्रहरी प्रमुख सरवर आलमले ढाकाको उत्तरी क्षेत्रमा रहेको औद्योगिक क्षेत्र गाजीपुरमा एक सातासम्म चलेको हिंसात्मक प्रदर्शनपछि कामदारहरू आफ्नो सिफ्टमा फर्किएको बताए ।
