गाजाको अस्पताल नजिक एम्बुलेन्समा भएको आक्रमणबाट आफू स्तब्ध भएको डब्लुएचओ प्रमुखको भनाइ

208
0
Share:

 

गाजाको सबैभन्दा ठूलो अस्पताल नजिकै एउटा एम्बुलेन्समा इजरायलले गरेको घातक आक्रमणका कारण आफू स्तब्ध भएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले बताएका छन् ।

गाजा शहरको अल–शिफा अस्पतालबाहिर क्षतिग्रस्त एम्बुलेन्सको छेउमा आफुले थुप्रै शव देखेको एएफपीका एक पत्रकारले बताए । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनामा १३ जनाको मृत्यु भएको जनाएको छ ।

हमासको प्रभावमा रहेको प्यालेष्टिनी सरकारले पनि इजरायली सेनाले गाजा शहरबाट इजिप्टसँग जोडिएको राफा सीमा नाकातर्फ घाइतेहरूलाई ओसारपसार गरिरहेको एम्बुलेन्समाथि पनि आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले युद्ध क्षेत्रमा हमासको लडाकू समूहले प्रयोग गरेको भनी सेनाले पहिचान गरेको एम्बुलेन्समा हवाई आक्रमण गरेको जनाएको छ ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले अल–शिफामा भएको ‘घटना’ मा घाइते बनेका २८ प्यालेस्टिनीलाई शुक्रबार इजिप्टका अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायली क्षेत्रमा गरेको रक्तपातपूर्ण आक्रमणमा परी एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन् भने हमास शासित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा नौ हजार २२७ जनाभन्दा बढीको मृत्यु भएको छ ।

सर्वसाधारणको हताहत रोक्न इजरायली पक्षसँग अमेरिकाको आग्रह

अमेरिकाका शीर्ष कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले गाजामा रहेका प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि थप कदम चाल्न आफ्नो सहयोगी देश इजरायलका नेताहरूलाई आग्रह गरेका छन् ।

शनिबार उनले द्वन्द्वका कारण नागरिकको मृत्यु हुनेको सङ्ख्याबारे चिन्ता र आक्रोश व्यक्त गरेका पाँच अरब मुलुकका विदेशमन्त्रीसँग छिमेकी जोर्डनमा वार्ता गर्ने कार्यक्रम रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बन्धकहरूको रिहाई सुनिश्चित गर्न र गाजाको सङ्कटग्रस्त जनसङ्ख्यालाई सहायता वितरण गर्न अनुमति दिन ‘मानवीय विराम’ को विचारबारे छलफल भएको बताएका छन् ।

उनले पत्रकारहरूसँग भने, “मानवीय विरामहरूले जमीनमा आवागमनलाई सुविधाजनक बनाउनेछ र प्यालेष्टिनी सर्वसाधारणको सुरक्षा बढाउनेछ र मानवीय सहायताको अधिक प्रभावकारी र दिगो वितरणलाई अनुमति दिनेछ भन्ने हामी विश्वास गर्दछौं ।”

उनले प्यालेस्टिनी राज्यको अन्तिम मान्यताका लागि वासिङ्टनको लामो समयदेखिको समर्थनलाई दोहोर्‍याए । उनले भने, “यहूदी र इजरायलका दुई थरी जनताका लागि स्थायी सुरक्षा सुनिश्चित गर्ने यो एक मात्र तरिका हो ।”

नेतन्याहूले गाजामा अक्टोबर ७ मा भएको आक्रमणका क्रममा हमासले कब्जामा लिएका अनुमानित २४१ जना इजरायली र विदेशी बन्धकलाई रिहा नगरेसम्म गाजामा ‘अस्थायी युद्धविराम’ हुन नसक्ने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्
Share: