
काठमाडौं : दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ।
गए राति फ्लाई दुबईको विमानमार्फत ११:३० बजे डोटी लामीखाल-८ का पदम थापाको शव नेपाल आइपुगेसँगै मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए।
उनले भने, ‘इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीको शव नेपाल ल्याइएको छ। इजरायलमा हाललाई उद्धार कार्य करिब-करिब सकिएको छ। बेपत्ता भएका विपीन जोशीको उद्धारका लागि पहल भइरहेको छ।’
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात अक्टोबर ७ मा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणमा परि मृत्यु भएका डोटी लामीखाल-८ का पदम थापा, सल्यान सारदा-३ का प्रवेश भण्डारी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा, तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए। सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन्।
केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका २ सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो।
डोटी लामीखाल-८ का पदम थापा, डोटी पचनाली-३ का राजन फुलारा र सल्यान सारदा-३ का प्रवेश भण्डारीको शव आज दिउँसो १२ बजेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सम्बन्धित जिल्लामा पठाइने तयारी भएको सहसचिव आरणले जानकारी दिए।
