श्रीलङ्कन क्रिकेटका दोस्रो सबैभन्दा ठूला अधिकारीले दिए राजीनामा

169
0
Share:

 

श्रीलङ्का क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन् । विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डमाथि भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन् ।

 

श्रीलङ्का क्रिकेट बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले आफूले अस्ट्रेलियाबाट आफ्नो राजीनामा पठाएको बताए । उनलाई अस्ट्रेलियामा हृदयाघात भएको पत्ता लागेको थियो ।

 

गत साता विश्व कप आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको शर्मनाक हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा आक्रोश व्यक्त गर्दै श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए । “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ”, उनले भने ।

 

डि सिल्भाले अस्ट्रेलियामा नियमित मेडिकल जाँचका क्रममा आफूलाई हृदयाघात भएको थाहा भएको भन्दै बोर्डमा आफू निर्वाचित पदबाट राजीनामा दिने निर्णय गरेको बताए । उनले आफ्नो चिकित्सा अवस्था ‘स्पष्टरूपमा क्रिकेट विवादसँग सम्बन्धित तनाव र चिन्ताका’ कारण भएको उल्लेख गर्दै परिवारले आफूलाई पदबाट राजीनामा दिन भनेको बताए ।

 

विश्व कप विजेता कप्तान अर्जुना रणतुङ्गाका भाइ एवं अर्का क्याबिनेट मन्त्री प्रसन्ना रणतुङ्गाले अगस्टमा संसद्लाई सन् १९९६ को जीत ‘हाम्रो क्रिकेटका लागि सबैभन्दा ठूलो अभिशाप भएको’ बताएका थिए । उनले भनेका थिए, “सन् १९९६ पछि क्रिकेट बोर्डमा पैसा आउन सुरु भयो र सँगै चोर्न चाहनेहरू पनि क्रिकेट बोर्डमा आए ।”

 

कमेन्ट गर्नुहोस्
Share: