
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन्। सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध होमिएको युक्रेनमा निर्वाचन गर्ने सही समय नभएको उनको भनाइ थियो।
गत वर्ष द्वन्द्व सुरु भएदेखि मार्सल लअन्तर्गत आगामी वसन्तमा हुने राष्ट्रपति निर्वाचनसहित सबै निर्वाचन प्राविधिकरूपमा रद्द गरिएको छ। ‘अहिले रक्षा र युद्धको समय हो भन्ने हामीले निर्धारण गर्नुपर्छ। यसमा राज्य र जनताको भाग्य निर्भर छ’, आफ्नो दैनिक सम्बोधनमा उनले भने।
उनले देशलाई विभाजित गर्ने नभएर एकताबद्ध हुने समय भएको बताउँदै भने, ‘अहिले निर्वाचनका लागि सही समय होइन भन्ने मेरो विश्वास छ।’
युक्रेनमा रुसी सेना पसेसँगै युक्रेनी सेनाले जवाफी हमला गरे पनि युद्धरत दुवै पक्षबीच सीमा रेखा करिब एक वर्षदेखि स्थिर रहेको छ। युक्रेनका प्रमुख सहयोगी अमेरिका र युरोपका अधिकारीहरूले २० महिनादेखि जारी सङ्घर्ष अन्त्यका लागि कुराकानी गर्न सुझाव दिएको बताइएको छ।
तर युक्रेनको जवाफी हमलामा गतिरोध उत्पन्न भएको वा पश्चिमी मुलुक वार्तामा प्रवेश गर्न किभतिर फर्केको भन्ने कुरालाई राष्ट्रपति जेलेन्स्कीले ठाडै अस्वीकार गरेका छन्। अमेरिका र अन्य सहयोगीहरूले आवश्यकता भएसम्म रुसलाई पराजित गर्न किभलाई सैन्य र वित्तीय सहयोग जारी रहने सार्वजनिकरूपमा भन्दै आएका छन्। अक्टोबर ७ मा इजरायलमाथि हमासले आक्रमण गरेपछि विश्वको ध्यान मध्यपूर्वतर्फ मोडिएसँगै जेलेन्स्की तीव्र दबाबमा परेका छन्।
सन् २०१९ को निर्वाचनबाट निर्वाचित राष्ट्रपति जेलेन्स्कीले आवश्यक परेको अवस्थामा आगामी वर्ष राष्ट्रिय निर्वाचन गराउन आफू तयार रहेको सेप्टेम्बरमा बताएका थिए। उनले निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई अनुमति दिने पक्षमा आफू रहेको समेत उल्लेख गरेका थिए।
विदेशमा ठूलो संख्यामा युक्रेनी र युद्ध मोर्चामा लडिरहेका सैनिकका कारण निर्वाचन गराउन तार्किकरूपमा कठिन हुनसक्छ। युद्ध सुरु भएपछि जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन उच्च थियो तर युद्धमा एकताबद्ध शक्ति भए पनि मुलुकको राजनीतिक परिदृश्य अस्थिर भएको छ।
रुसविरुद्ध जवाफी हमला सुस्त गतिमा भएकामा जेलेन्स्कीको आलोचना गरेपछि राष्ट्रपतिका पूर्वसहयोगी ओलेक्सी एरोस्टोभिचले आफ्ना पूर्वप्रमुखसँग निर्वाचनमा लड्ने घोषणा गरेका छन्।
