बिक्री हुँदैनन् माटाका भाँडा

152
0
Share:

चितवन : पुर्ख्यौली पेसा धान्नका लागि बजार खोज्दै विसं २०३३ मा चितवन झरेका रन्तभक्त प्रजापति अहिले सन्तुष्ट छैनन् । बाबुबाजेले गर्दै आएको माटोका भाँडा बनाउने कामलाई निरन्तरता दिन र व्यवसायलाई फराकिलो बनाउने उद्देश्यका साथ भक्तपुरको ठिमीबाट अभिभावकसहित चितवन झरेका उनी अहिले माटोका भाँडा बिक्री हुन छाडेपछि उत्पादनको काम छाडेर पसल सञ्चालन सुरु गरेका छन् ।

 

भरतपुर महानगरपालिका–९ निवासी प्रजापतिको भरतपुर १२ थानि चोकमा माटाको भाँडाको सानो पसल  छ । पसल सानो भए पनि दैनिक आवश्यकपर्ने माटाका भाँडा सबै उनको पसलामा पाइने गरेको छ ।

 

सुरुवातको समयमा आँफैले माटाको भाँडा बनाएर बिक्री गर्दै आएका उनी उत्पादित सामग्रीमा मेहनत बढी र आम्दानी कम हुने भएपछि सामान खरिद गरेर बिक्री गर्न थालेको बताउँछन् ।

 

“पहिले–पहिले मैले उत्पादन गरेर जुन पसलमा सामान बिक्री गर्दथे अहिले त्यही पसलबाट सामान खरिद गरेर ल्याउने गरेको छु”, उनी भन्छन्, “तिहारको समयमा कुनै वर्ष ४० हजार वटासम्म पाला बेच्ने गरेको थिएँ । अहिले दुई हजार वटा पनि बिक्री गर्न पनि समस्या छ ।”

 

बजारमा उपलब्ध प्लास्टिक तथा अन्य सामग्रीका सामानका कारण माटोका भाँडा विस्थापित भएको उनको बुझाइ छ । उनले भने, “यो पेसा सङ्कटमा पर्ने देखिएको छ । कसैले पनि गर्न खोज्दैनन्, युवामा आकर्षण छैन । दुःख बढी र आम्दानी कम भएपछि कस्ले गर्ने यस्तो काम ?”

 

चितवनमा आफूसँगै एक÷दुई जनाले मात्रै माटोको भाँडा बनाउने गरेको भन्दै उहाँले त्यो पनि चाडपर्वलाई लक्षित गरेर मात्रै बनाउने गरेको बताए ।

 

यस पेशामा दुःख बढी र कमाइ कम हुने हुँदा आकर्षण बढ्न नसकेको उनको बुझाइ छ । “पहिलेको तुलनामा अहिले ८० प्रतिशत बिक्रीमा कमी आएको छ”, भरतपुर महानगरपालिका–१ नारायणगढमा पूजा सामग्री सञ्चालन गर्दै आएका नारायण काफ्ले भने, “आवश्यक परेको खण्डमा मात्रै माटोका भाँडा लैजाने ग्राहक भेटिन्छ ।” विशेष गरी तिहारको अवसरमा माटोको पालाको मात्रै खोजी हुने गरेको भए पनि पहिलेको तुलनामा माग घट्दै गएको उनको भनाइ छ । उनले भने, “पहिला माटोको दियोमा बत्ती बाल्ने प्रचलन भए पनि मैनबत्ती तथा पाला जस्तै देखिने बिजुली बत्तीले यसलाई विस्थापित गर्दा माटाका सामग्री बिक्रीमा कमी आएको हो ।”

 

नारायणगढमा माटोका सामग्रीको थोकमा व्यवसाय गर्दै आएका ‘सुवेदी माटोको भाँडा पसल’का सञ्चालक नारायणप्रसाद सुवेदी विगतको वर्षमा जस्तो माटोको भाँडाको व्यापार हुन नसकेको बताउँछन् । उनले भने, “व्यापार त छ  तर अघिल्ला वर्षको तुलनामा कम छ ।” चितवनमा माटाका सामग्री उत्पादन नहुँने हुँदा भक्तपुरलगायतका क्षेत्रबाट ल्याएर यहाँ बिक्री गर्ने गरेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
Share: