बङ्गलादेशमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु, तीन लाख संक्रमित

227
0
Share:

यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख संक्रमित भएका छन् ।

 

स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो आँकडाअनुसार यो वर्ष डेङ्गुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ । नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ संक्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ ।

 

महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेङ्गुबाट मृत्यु भएको जनाएको छ । गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेङ्गु संक्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना संक्रमित भएका छन् ।

 

बङ्गलादेशमा सेप्टेम्बरमा डेङ्गुका केसमा उच्च वृद्धि भएको थियो । उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ संक्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो । व्यापकरूपमा डेङ्गु फैलिएपछि चीनले मङ्गलबार बङ्गलादेशलाई डेङ्गुविरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: