युक्रेनले सन् २०२४ को बजेटको आधा हिस्सा रक्षा क्षेत्रमा खर्च गर्ने

Share:

युक्रेनका संसदले राज्यको सम्पूर्ण खर्चको आधा हिस्सा रक्षामा खर्च हुनेगरी सन् २०२४ को सरकारी बजेटलाई अनुमोदन गरेको छ । बिहीबार बजेट बिनियोजन विषयमा मतदान भएको थियो ।

कीएभ र मस्को दुवैले युद्ध सुरु भएदेखि नै सैन्य खर्चमा व्यापक वृद्धि गरेका छन् । उनीहरू दुबैले हतियार र गोलाबारुदको उत्पादन बढाएका छन् किनकि उनीहरूले लामो द्वन्द्वको तयारी गरिरहेका छन् ।

युक्रेनको अर्थ मन्त्रालयका अनुसार करिब १.७ ट्रिलियन रिभनिया (करिब ४७ अर्ब अमेरिकी डलर) रक्षामा खर्च हुनेछ, जुन सन् २०२३ को बराबर हो ।

यो आँकडा शिक्षा, सामाजिक कल्याण र स्वास्थ्य सेवामा संयुक्त रूपमा गरिएको खर्चभन्दा बढी हो र यो देशको योजनाबद्ध खर्चको कुल ९३ अर्ब डलरको लगभग आधा हो ।

युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राज्य अमेरिकाजस्ता पश्चिमी सहयोगीहरूको आर्थिक सहयोगमा युद्धको समयमा आफ्नो अर्थव्यवस्थालाई जीवित राख्नको लागी धेरै निर्भर बनेको छ ।

आईएमएफले सन् २०२३ मा आवश्यक पर्ने अनुमान गरेकै हाराहारीमा आगामी वर्ष दैनिक खर्च गर्न ४१ अर्ब अमेरिकी डलर बाह्य सहयोग आवश्यक रहेको बताएको छ ।

यूक्रेनको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “रक्षा क्षमताको सुदृढीकरण, जनसङ्ख्याको सुरक्षा, भूतपूर्व सैनिकहरूलाई सहयोग, सामाजिक स्तर र आर्थिक पुनरुत्थानलाई बढावा दिने देशको बजेटको प्राथमिकता स्पष्ट छ ।”

“हामीसँग छिटोभन्दा छिटो युद्ध जित्नका लागि थप ड्रोन र हाम्रा आफ्नै हतियारहरू हुनेछन्,” विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: