
कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन् । उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले बताए । पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उनले बताए ।
स्रोतका अनुसार रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुलामा कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए ।
चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो ।
