
कास्की : पोखरामा जारी केपी ओली कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफ क्लबका अरुण ऐरीले लुम्बिनीका पाँच जनालाई पेभिलियन फर्काएपछि एपिएफ क्लब ८४ रनले विजयी भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा एक सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न चार ओभर बलिङ गरेका ऐरीले सात रन दिँदै पाँच विकेट हात पारे ।
लुम्बिनीका निर्मल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् । एपिएफका भुवन कार्कीले दुई, अभिनास बोहरा र अमर रौतालाले समान एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । लोकेश बमले विस्फोटक पारी खेल्दै १३ बलमा तीन चौका, तीन छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर गरेको थियो । गण्डकीसँग एक खेल गुमाएको एपिएफलाई सेमिफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नु पर्ने दबाबमा रहेको एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान दुई÷दुई विकेट लिए भने मोहम्मद हुसेनले एक विकेट हात पारे ।
समूह ‘बि’ मा रहेको एपीएफ सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । एक÷एक खेल जित्दै एपीएफ र गण्डकीको समान दुई÷दुई अङ्क छ । सेमिफाइनलको टुङ्गो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टिमहरू नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको दुई गरी १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा उपाधि विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। म्यान अफ द सिरिजले नगद ३० हजार, वेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार समूह ‘बी’ अन्तर्गत गण्डकी र लुम्बिनी तथा दोस्रो खेल समूह ‘सी’ अन्तर्गत रहेको विभागीय टिम नेपाल पुलिस क्लब र मधेस प्रदेशका बिच हुने छ ।
कर्णाली विजयी
शनिवारको खेलमा दीपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा कर्णाली प्रदेशले जित निकालेको छ । कर्णालीले चार विकेटले जित निकालेको हो ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ विरुद्ध एक सय १० रनको लक्ष्य पछ्याएको कर्णालीका लागि म्यान अफ दि म्याच समेत रहेका दीपेन्द्रले नट आउट रहँदै ३१ बलमा दुई चौका र तीन छक्काको मद्दतले ४३ रनको इनिङ खेले। कर्णालीले १८.१ ओभरमा छ विकेट गुमाउँदै एक सय ११ रन बनायो ।
टस जितेर इनिङको सुरुवात गरेको आयोजक रातोले पुरै २० ओभर खेल्दै छ विकेट गुमाउँदै एक सय नौ रन बनायो । चार बल फेस गरेका आयोजकका कप्तान अमर मिश्र एक रन बनाउँदै अनुज चनाराको बलमा रवीन्द्र शाहीको हातबाट क्याच आउट हुन पुगे। आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७ रन, अङ्कित विएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० रन, सहजाद अलामले १६ रनको योगदान दिए ।
कर्णालीका लागि प्रकाश जैशीले दुई विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान एक÷एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको कर्णालीका लागि दीपेन्द्र राउतले ४३, प्रकाश जैशीले १९ र निश्चल रावलले १५ रन बनाए । आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान दुई÷दुई विकेट लिँदा सन्द्रश पराजुली र सुमित थापाले एक÷एक विकेट लिए ।
समूह ‘ए’ मा रहेका दुवै टिम भने अन्तिम चारबाट बाहिरिएका छन्। सो समूहबाट बागमती लगातार दुई खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
