बागलुङ : एचआइभी संक्रमितको शल्यक्रियामार्फत शिशु

Share:

 

बागलुङ : यहाँको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी संक्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिएकी छिन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन हजार पाँच सय २५ ग्राम रहेको अस्पतालको भनाइ छ ।

 

शिशुका आमा बुबा दुबै एचआइभी संक्रमित भइ एआरटी औषधि सेवन गरिरहेका छन् । यसअघि बागलुङका एचआइभी संक्रमित गर्भवतीलाई पोखराको गण्डकी अस्पताल अथवा टेकु अस्पताल पठाउने गरिएको थियो । एआरटी सेन्टरका प्रमुख प्रदीप आचार्यले अस्पतालमा एचआइभी संक्रमितको उपचार र परामर्श दिँदै आइएको बताए ।

 

स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशुको धड्कन बढी भएपछि शल्यक्रिया गरिएको धौलागिरि अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा विजय ओझाले जानकारी दिए । शल्यक्रियामार्फत जन्मिएको शिशुको स्वास्थ्य सामान्य रहेको र एचआइभी संक्रमण नहोस् भनेर तुरुन्तै औषधि समेत चलाउन थालिएको ओझाको भनाइ छ ।

 

“संक्रमित महिलाले नियमित एचआइभी संक्रमितको औषधि खाँदै आउनुभएको थियो, औषधि सेवनले संक्रमितको ‘भाइरल लोड’ कम हुन्छ”, ओझाले भने, “संक्रमित महिलाले बच्चा जन्माउने प्रक्रिया त फरक भएन, तर चिकित्सक तथा स्वास्थ्यकर्मी केही सजग रहनुपर्ने हुन्छ ।” संक्रमित आमाबाटसमेत स्वस्थ बच्चा जन्मिने भएकाले एचआइभी सर्ने सम्भावना अत्यन्तै न्यून रहे पनि उपचार र हेरचाह भने गर्न आवश्यक हुन्छ ।

 

जिल्लामा अझै दुई जना एचआइभी संक्रमित गर्भवती रहेको एआरटी सेन्टरका प्रमुख आचार्यले बताए । विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्न थालेको धौलागिरि अस्पतालमा पछिल्लो समय ठूला उपकरण र प्रविधिसमेत भित्राइँदै आएको छ । धौलागिरि अस्पतालमा हालै मात्र रु १० करोडको सिटिस्क्यान उपकरण भित्र्याएर सेवा दिन थालिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: