‘नारायणगोपालका तीन सपना’ पूरा गरिँदै

Share:

काठमाडौं : महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ ।

 

नेपाली गीतसंगीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्वलाई जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ । नेपाली गीतसंगीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाउनुभएका ‘स्वरसम्राट्’का स्मृतिमा ‘नारायणगोपाल संगीत कोष’ ले उनको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ । अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उनको सपनालाई मूर्तरूप दिइँदै छ ।

 

काठमाडौं किलागलबाट हालको कामपा-३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सरेका नारायणगोपाल (विसं १९९६-२०४७) को निवासलाई सबैथरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ । तर यस मङ्सिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनःनिर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ ।

त्यो कोमल, आनन्दायक र  अमूल्य  ‘मखमली आवाजका धनी’ को  जन्म महिना र गते असोज १८ लाई नभई देहावसान महिना र गते मङ्सिर १९ का दिनलाई नै कोष र गीतसंगीतकर्मीले पवित्र दिन मान्दै समारोह आयोजना गर्दै आएका छन् । कोषले हरेक वर्ष गीतसंगीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसकेका छन् । कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन विसं २०६१)ले पतिसँगको विछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत सङ्ग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसकेका थिए ।

 

गीतसंगीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो । यसअघि नै कामपा–३ का वडाध्यक्ष दीपक केसीको पहलमा विसं २०५४ मा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथचोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने विसं २०५५ मा महाराजगञ्ज चोकमा उनको सालिक ठडिइसकेको छ ।

 

कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीतसंगीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै  घरेलु वस्तु  सङ्ग्रहालयमा राखिने बताउँछन्  । त्यसो त नारायणगोपाल–पेमला निवास÷सङ्ग्रहालयभित्रको पश्चिमोत्तर १७/१४ फिटको कक्षमा  अहिले नै उनले प्रयोग गरेका तबला, हार्माेनियम, मादललगायत संगीत उपकरण, त्रिइनवन सिडी-क्यासेट-रेडियो,  सम्मान- प्रशंसापत्र-पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्वीर, रेडियो सजिसजाउ गरी राखिएका छन् । उहाँकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन् । “‘मखमली आवाज’का धनीलाई सम्मान गर्न सङ्ग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ”, कामपा-३ का पूर्ववडाध्यक्ष केसीले भने ।

 

भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल सालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वोत्तर साढे दुई तलाको सङ्ग्रहालयमा नारायणगोपाल–पेमला दम्पतीका शय्या, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्वीर आदि निवासमै यत्रतत्र छन् । जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि संकलन हुँदै छ ।

 

“त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो”, सङ्ग्रहालय निर्माणमा जुट्नुभएका कोषका संगीत निर्देशक राजकुमार श्रेष्ठले भने । निवासका अन्य कोठाहरू स–साना नै छन् । बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ । डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ । जहाँ नारायणगोपाल आफैँ खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्नुहुन्थ्यो । भर्‍याङ भने निकै साँघुरो र परम्परागत नै छ । कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन ।

 

सङ्ग्रहालयको तल्लो वा भुइँतलाको एक कोठा भने हाल भ्वायलिन सिक्न चाहनेका लागि प्रयोग गरिँदै छ । “विसं २०५२ देखि दैनिक चार-पाँच जनालाई गरेर हालसम्म दुई/तीन सय विद्यार्थीलाई मैले तालिम दिइसकेँ, त्यो पनि सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क”, संगीत निर्देशक श्रेष्ठले भने ।  आधुनिक संगीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ । भ्यायलिन विश्वको सबभन्दा लोकप्रिय बाजा हो । जसको प्रयोग पाश्चात्य संगीतदेखि लिएर हरेक प्रकारका संगीतमा गरिन्छ । सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा  ‘बेला’  सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ ।

 

केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगङ्गा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग  । पछिल्लो सपना भने साथीभाइ–गीतसंगीतकर्मीमाझ स्वरसम्राट्ले ठट्टै ठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले यसरी सुनाएका रहेछन्, “हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन् ?”

 

गीति शब्द तौलेर मात्र गाउने यी गायकले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवाल, भूपी शेरचन, ईश्वरबल्लभ, धर्मराज थापा, चेतन कार्की, लक्ष्मण लोहनी, प्रदीप रिमाल, तुल्सी घिमिरे, नगेन्द्र थापा, किरण खरेल, राममान तृषित, गोपाल योञ्जन, भीम विराग, क्षेत्रप्रताप अधिकारी, दिव्य खालिङ, विश्वम्भर प्याकुर्‍याल, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, भैरवनाथ रिमाल, कञ्चन पुडासैनी, नीर शाह, दिनेश अधिकारीलगायत नाम चलेका कवि । गीतकारका गीत मात्र गाए, संगीत दिए जुन गीतिमययुक्त, सुसंस्कृत र अतिसूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन् ।  तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उनले जीवनको उत्तरार्धतिर मात्र गाए ।

 

जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा) मा कर्णप्रिय संगीत तथा स्वर दिनुभएका नारायणगोपालको निवास पुनःनिर्माणका लागि रु २० लाख र सङ्ग्रहालय निर्माणका लागि रु २० लाख लागत लाग्ने अनुमान गरिएको छ । यी काम चालू आव २०८०/८१ मै सकिने योजना छ । “यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न संघसंस्था, व्यक्तिआदिका सहयोग लिन्छौँ । यो त राज्यकै दायित्व हो नि”, स्थानीय समाजसेवीसमेत रहेका केसीले भने । यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उनको भनाइ छ ।

 

गीतगङ्गा भवन

नारायणगोपालका सपनामध्येको गीतगङ्गा भवन निर्माण भइरहेको छ । संगीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ । रु सात करोड लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन् । “हामी चालू आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको संगीत कक्षा सुरु गराउने छौँ”, राजनीतिकर्मी केसीले भने ।

 

सहिद, राजनीतिज्ञ/राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसंगीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, संघसंस्था, सालिक, सङ्ग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा÷व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल संगीत महाविद्यालयका संगीत निर्देशक श्रेष्ठ जोड दिन्छन् ।

 

गीतसंगीत क्षेत्रमा नेपालका ‘तारा’ देवीका नाममा पाँच वर्षअघि स्थापित प्रतिष्ठानका अध्यक्ष पनि रहेका केसीले उनीद्वारा गाइएका-संगीत दिइएका गीतहरूको पनि संकलन र ‘नोटिफिकेसन’को हुँदै गरेको जानकारी दिए । यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उनले दिएका छन्।

 

तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्दलगायत छन् । उनका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: