आँखाको उपचार गर्न शिविरकै भर

Share:

पाँचथर : याङ्वरक गाउँपालिका–३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर बसेका छन् । करिब ७६ वर्षीय मैतसिंहको देब्रे आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि शल्यक्रिया गर्नुपर्ने भयो । झण्डै १० वर्षदेखि आँखाको समस्या भोगिरहेका मैतसिंहले गत वर्ष थर्पुमा स्थापित आँखा उपचार केन्द्रमा पहिलो पटक आँखा जाँच गराएका हुन् । आँखामा समस्या देखिएको स्वास्थ्यकर्मीले बताएपछि उनी शिविर पर्खेर बसिरहेका थिए । “भरसक दुवै आँखाको शल्यक्रिया गराऔँ भनेको, डाक्टरले एउटाको मात्रै गरे पुग्छ भने”, मैतसिंहले भने ।

 

सोही वडाका श्रीनन्द नुगो लिम्बू ७४ वर्षको भए । उनका दुवै आँखामा बादल लागेजस्तो हुन्थ्यो । नजिकैको स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा उपचार नहुने सुनेपछि उनी समस्या पालेरै बसिरहेका थिए । मधुरो देखिने हुँदा विस्तारै हिँडडुल गर्नुपर्ने बाध्यतामा रहनुभएका उनी आँखाको उपचार गरेर सहज जीवनको अपेक्षामा छन् । “गाउँबाट तीन जना साथीहरू आएका छौँ, चस्मा लगाउँदा होला कि भनेको ‘अप्रेसन’ नै गर्नुपर्छ भन्ने कुरा डाक्टरले गर्दै हुनुहुन्छ”, याङ्वरक गाउँपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा भेटिएका नुगोले भने ।

 

शिविरमा आँखा परीक्षणका लागि आउनुभएका याङवरक–६ का रामकुमार भारती शिविरमार्फत घर दैलोमा सेवा पुर्‍याउने कार्यले सामान्य नागरिक बढी लाभग्राही हुने बताउँन् । “टाढा पुगेर उपचार गर्नुपर्ने बाध्यता हट्थ्यो, स्वास्थ्य क्षेत्रका अन्य सेवालाई पनि यसरी नै विस्तार गर्न स्थानीय सरकार लाग्नुपर्छ”, भारतीले भनिन्, “आँखाको उपचारका लागि झापासम्म पुग्नुपर्ने बाध्यताले झापा पुगेर उपचार गराउनसक्ने अवस्था छैन ।”

 

उपचार र परीक्षणका लागि गाउँपालिकाले आयोजना गरेको आँखा शिविरमा आएका मैतसिंह, श्रीनन्द र रामकुमारजस्तै पूर्वी पहाडका नागरिकले आँखाको उपचार तथा परीक्षणका लागि कि त शिविर नै पर्खनुपर्छ, कि झापा पुग्नुपर्छ । पूर्वी पहाडका आँखाको उपचार गर्ने अस्पताल र जनशक्ति अभावका कारण नागरिक आँखा शिविरको भरपुर सदुपयोगमा लागेका देखिन्छन् ।

 

तथ्यांकले पनि यहाँका नागरिक शिविरमार्फत सेवा लिन इच्छुक रहेको देखाउँछ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङसँगको सहकार्यमा यही मङ्सिर १४ र १५ गते याङवरक गाउँपालिकाले आयोजना गरेको शिविरमा तीन सय ९७ जनाले सेवा लिएका छन् । त्यसमध्ये ३२ जनाको मोतियाबिन्दको शल्यक्रिया, दुई सय २८ जनाको आँखा परीक्षण र चस्मा वितरण तथा बाँकीको आँखा परीक्षण गरिएको गाउँपालिकाका प्रवक्ता कुमारध्वोज सुनुवारले जानकारी दिए ।

 

यहाँ गत वर्ष आयोजना गरिएको शिविरमा पाँच सय ३० सेवाग्राहीले लाभ लिएका र त्यसमध्ये ३८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिए ।

 

याङवरक र कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्र स्थापना गरी आँखा परीक्षण, बिरामीको तथ्यांक संकलन, चस्मा र औषधि वितरण गरिरहेका छन् । कुम्मायकले यासोक बजारमा कुम्मायक आँखा उपचार केन्द्र र याङ्वरकले थर्पुमा याङवरक आँखा उपचार केन्द्र स्थापना गरेका छन् । यी उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको सहकार्यमा स्थापना गरिएका हुन् ।

 

दुई÷दुई वर्षमा आँखा शिविर सञ्चालन गर्दै आएको हिलिहाङ गाउँपालिकाले यस वर्ष प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा मङ्सिर पहिलो साता आयोजना गरेको शिविरमा नौ सय  सात सेवाग्राहीले सेवा लिएका थिए । त्यसमध्ये ६७ जनाको मोतियाबिन्दु र अन्य समस्याको शल्यक्रिया गरिएको हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रकाश घिमिरेले जानकारी दिए ।

 

घिमिरेका अनुसार आँखाको उपचार सहज नहुँदा सेवाग्राही शिविर कुरेर बस्ने गरेका छन् । “स्वास्थ्य संस्थामा आँखाका बिरामी दैनिकजसो आउँछन्, मोतियाबिन्दुको समस्या धेरै देखिन्छ, चस्मा लगाउनुपर्ने अवस्थाका बिरामी पनि प्रशस्तै भेटिन्छन्”, घिमिरेले भने, “हामीले उपचार गर्न नसक्ने हुँदा उपचारका लागि जिल्ला बाहिर जान वा शिविर पर्खन भन्ने गरेका छौँ ।” विद्यार्थीमा पनि आँखाको समस्या देखिने गरेको घिमिरेको भनाइ छ । यस्तै आँखामा आकस्मिक समस्या तथा दुर्घटनामा चोट लागेमासमेत उपचारका लागि झापा पुग्नुपर्ने बाध्यता छ ।

 

यहाँका अधिकांश बिरामी आँखामा आएको समस्या समाधानका लागि मेची आँखा अस्पताल विर्तामोड पुग्ने गर्दछन् । कतिपयले फिदिममा रहेका आँखासम्बन्धी सेवा दिने क्लिनिकमा समेत उपचार गराउँछन् । उसो त पाँचथरका फिदिम नगरपालिकासहित अन्य स्थानीय तहले आँखा शिविर सञ्चालन गरिरहेका छन् । स्थानीय तहले नियमित शिविर सञ्चालन गर्दा नागरिकलाई केही सुविधा पुगेको देखिन्छ ।

 

शिविरमार्फत दिइने सेवाभन्दा जिल्लामा आँखाको उपचार गर्ने सुविधासम्पन्न अस्पताल निर्माण गर्नुपर्नेमा यहाँका सरोकारवालाले जोड दिने गरेका छन् । जिल्ला अस्पतालमा मेची आँखा अस्पतालको सहयोगमा छुट्टै कक्ष स्थापना गरिए पनि दक्ष स्वास्थ्यकर्मी, उपकरण र औषधिको अभावमा उक्त कक्षले प्रभावकारी सेवा दिन नसकेको बिरामीको गुनासो छ ।

कमेन्ट गर्नुहोस्
Share: