जग्गा नभएपछि कौसीमा खेतीमा रमाएका प्रेमराज

155
0
Share:

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका र्‍याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ ।

 

उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । “२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरू गरेको हुँ”, उनले भने, “सुरूआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुँ अहिले बिक्री गर्न थालेको छु मासिक चार÷पाँच हजार आम्दानी हुन्छ ।”

उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए । “यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन”, खत्रीले भने, “जग्गा नभएपछि छतमा खेती सुरू गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।” तरकारी बिक्रीबाट मासिक चार÷पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए ।

 

“केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदै”, उनले भने, “यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।” उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए । “मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन”, उनले भने, “घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।” अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए । “छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन्”, उनले भने, “तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।”

 

उनी कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय छन् । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेका उनको ‘हो… जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन् । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ ।

कमेन्ट गर्नुहोस्
Share: